विश्व बैंकले नेपाललाई वार्षिक १५ प्रतिशतले सहयोग बढाउने

title
बुधबार, साउन २३, २०७५

काठमाडौं । विश्व बैंकले नेपाललाई गर्दै आएको दीर्घकालीन सहयोग वार्षिक कम्तिमा १५ प्रतिशतले बढाउने भएको छ ।

नेपालमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिका लागि सबैभन्दा ठुलो बहुपक्षीय दातृ निकायले आफ्नो सहयोग बढाउने भएको हो । नेपालमा विश्व बैंकको सहयोगको पोर्टफोलियो २ अर्ब ७० करोड अमेरिकी डलरभन्दा धेरै छ । उसको सहयोगमा २३ वटा आयोजना चलिरहेका छन् ।

सरकारको प्रतिनिधित्व गर्दै अर्थमन्त्री डा युवराज खतिवडाको नेतृत्वमा अमेरिकाकालागि नेपालका राजदुत डा अर्जुन कुमार कार्की र अर्थ मन्त्रालय बैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सह सचिव श्रीकृष्ण नेपाल सहितको तीन सदस्सीय प्रतिनिधिमण्डलले भाग लिनुभएको तीन दिने नेपाल र विश्वबैकको नेपाल सहायता सम्वन्धि उच्चस्तरीय बैठकमा दीर्घकालीन सहयोगको घोषणा गरिएको हो ।

अर्थमन्त्रीले नेपालको विकास साझेदारी खाका सम्वन्धि विश्व बैंकका कार्यकारी निर्देशकहरूको सयुक्त बैठकलाई आजै संबोधन गर्दै नेपालमा विकासका चुनौती र अवसरहरुको चर्चा गर्दै आगामी ५ वर्षका लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गर्नुभयो । उहाँले नेपाललाइ आगामी सन् २०२२ मा अतीकम विकसित राष्टवाट स्तरोन्नती गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको, नेपालले निरन्तर सुधारलाइ अगाडि बढाएको र दिगो विकास लक्ष्य प्राप्त गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

त्यस्तै विश्व बैंकको मुख्यालय वासिङ्टन डि. सि. मा अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हाट्विग सेफर बीच भेटवार्ता भएको थियो । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अंगीकार गरेको संघीयता कार्यान्वयनको सन्दर्भ उठाउनु भएको थियो ।