विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने

title
बिहिबार, साउन २४, २०७५

काठमाडौ । विश्व बैंकले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व र विकासका लागि १० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ ।

सन् २०१३ मा शुरु भएको वित्तीय क्षेत्रको स्थायित्व विकास नीति क्रेडिट (डीपीसी) लाई निरन्तरता दिंदै बैंकको बोर्डले पुनः यो सहयोग स्विकृत गरेको हो । विश्व बैंकले नेपालका लागि तयार गरेको पाँचवर्षे सहायता साझेदारी रणनीति सम्वन्धि दस्तावेज वारे वासिङ्टन डीसीमा छलफल भईरहेको वेला यो सहयोग स्विकृत गरिएको हो ।

नेपालमा बैंकका ऋणीहरु उच्च ब्याजदरको मारमा परेका वेला विश्व बैंकले यो सहयोग घोषणा गरेको हो । राष्ट्र बैंकको क्षमता बृद्धि र सरकारी बैंकको सुधारका लागि नेपालले यस्तो सहयोग दुई दशक यता पटक पटक लिईसकेको छ । अर्थमन्त्री खतिवडाले वासिंगटनस्थित बैंकको मूख्य कार्यालयमा बैंकका बोर्ड सदस्यहरुसंगको छलफलमा नेपाल नयाँ राजनीतिक अभ्यासको क्रममा रहेकाले थप स्रोत आवश्यक रहेको बताउनुभएको थियो ।

संघीय सरकार र स्थानीय सरकार बनिसकेको अवस्थामा उनीहरुलाई परिचालन गरि विकास निर्माणको कार्यक्रम अगाडी लैजाने धारणा अर्थमन्त्रीको थियो । छलफलमा विश्व बैंकका पदाधिकारीहरुले स्थानीय निकायको सक्षमताका बारेमा चासो देखाएका थिए ।