विष्फोटबारे स्थानीय भन्छन् : बम बनाउँदा पड्केको होला

title
आइतवार, जेष्ठ १२, २०७६

काठमाडौं-काठमाडौंका २ स्थानमा आइतबार विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । घट्टेकुलोमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको हो भने सुकेधारमा भएको अर्को विस्फोटमा २ जनाको ज्यान गएको छ ।

घट्टेकुलोको संगम गल्लीमा साढे ४ बजे भएको विस्फोटमा एक जनाको मृत्यु भयो । मृतकको पहिचान खुल्न सकेको छैन । विस्फोटमा घाइते भएका रुकुम सानो भेरी गाउँपालिका स्थायी घर भएका वर्ष २६ का रविन केसीको वीर अस्पताल उपचार भइरहेको छ ।

घट्टेकुलोको एक घरमा भुइतलामा विस्फोट भएको र उक्त विस्फोटले घरको गारो नै चर्किएको बाहिरबाट नै देख्न सकिन्छ । उक्त विस्फोटको समयमा छिमेकी घरहरुमा समेत कम्पन भएको स्थानीयले बताएका छन् ।

विस्फोट भएको घरको अगाडि पसल चलाएर बसेकी हेमा कोइरालाले विस्फोट भएपछि शुरुमा ट्रान्सफर्मर पड्एिको अनुमान आफूहरुले लगाएको बताइन् । केहीले ग्यास सिलिन्डर विस्फोट भनेपछि केही मानिस हेर्न गएका थिए । तर ग्यासको सिलिन्डरमा कुनै क्षति नपुगेको उनीहरुले बताएको कोइरालले भनिन् ।

‘म विस्फोटको समयमा यो नजिकको घरमा थिएँ । एक्कासी पड्किएको आवाज आयो । पहिला ट्रान्सफर्मर पड्किएको भन्ने सोच्यौं तर होइन रहेछ, केहीले ग्यास पड्किएको रहेछ भने’ प्रत्यक्षदर्शी कोइरालाले भनिन्,‘पछि गएर हेर्दा भने ग्यास सिलिन्डर सध्दे नै थियो । अरु नै विस्फोट भएको रहेछ ।’

बम विस्फोट भएको स्थानीयले आशंका व्यक्त गरका छन् । विस्फोटपछि एक जना रगताम्मे भएर बाहिर निस्किएको र उनको पाइन्टसमेत च्यातिएको अवस्थामा रहेको आफूले देखेको कोइरालाको भनाइ थियो । ‘एकजना रगताम्मे भएर बाहिर निस्किएका थिए, उनको पाइन्ट पनि च्यातिएको थियो’ कोइरालाले भनिन्,‘भित्र एक जना मरेका थिए बाहिर निस्कने रगताम्मे थिए ।’ बम बनाउँदै गर्दा पड्केको हुनसक्ने स्थानीयको अनुमान छ।

विस्फोट भएको घरका अर्का एक छिमेकीले भने उक्त समय आफू घरमा नै रहेको र त्यस बेला घरका झ्याल ढोकाहरु निकै थर्किएको बताए ।

‘ढोका झ्यालहरु हल्लियो त्यसपछि बाहिर निस्किएँ, विस्फोट निकै ठूलो थियो’ उनले भने,‘ यहाँको अवस्था र विस्फोटको आवाजपछि हामीहरुले उक्त घरमा बम बनाउँदै गर्दा गल्तीले विस्फोट भएको हो कि भन्ने आशंका गरेका छौं ।’

घरको भुइतलमा विस्फोट भएको छ र त्यसले सिलिङमा पनि क्षति पुगेको छ । विस्फोटमा विप्लव समूहको संलग्ता रहेको आश‌ंका प्रहरीले गरेको छ ।