व्यवसायिक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि सम्वन्धी सम्मेलन सुरु

title
बिहिबार, अशोज १८, २०७५

काठमाडौ । व्यवसायिक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपालको सामाजिक–आर्थिक विकासका लागि सघाउ पु¥याउने उद्देश्यका साथ डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी) ले सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनले इन्जिनियरिङ क्षेत्रका उत्कृष्ट उपलब्धीको अवलम्बन, सफल मोडलहरुको आदानप्रदान गर्ने आयोजकले जनाएको छ । सम्मेलनको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले समग्र क्षेत्रको विकासका लागि नेपालले व्यवसायिक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा जोड दिएको बताउनुभयो ।

दिगो विकासका लागि पनि विज्ञान र प्रविधिको क्षेत्रमा भएका उपलब्धिको सदुपयोग गरेर अघि बढ्नुपर्ने उहाँको भनाई छ । उहाँले सरकारले अघि सारेको सुखी नेपाली, समृद्ध नेपालको नारालाई साकार पार्न पनि सम्मेलन महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

सम्मेलनले विश्वका पछिल्ला प्रविधि, प्राविधिक उत्पादन, विकास र विकास निर्माणको शैलीप्रति जागरुकता फैलाउनुका साथै सकारात्मक प्रतिस्पर्धा निम्त्याउने आयोजकको विश्वास छ ।