शहीद स्मारक ए डिभिजन लिग शुरुः आर्मी क्लवको विजयी शुरुवात

title
शनिबार, मंसिर १, २०७५

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मीले पहिलो जित निकालेको छ । एपीएफ मैदान हलचोकमा शनिबार भएको दोस्रो खेलमा आर्मीले च्यास युथ क्लबमाथि १–० को जित निकालेको हो ।

आफ्नो पहिलो खेलमा एनआरटीसँग बराबरी खेलेको आर्मीले शनिबार च्यासलमाथि पहिलो हाफमै अग्रता लिएको थियो । पहिलो हाफको २९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको आर्मीले अन्तिमसम्म उक्त अग्रता जोगाउन सफल भयो ।

आर्मीका लागि विकास खवासले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको च्यासलले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । त्यस्तै प्रतियोगीता अन्तर्गत शनिबार नै भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा अञ्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो ।

खेलको ३९ औँ मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलाव अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए । मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले हराएको थियो । एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो ।