शिक्षाको लगानी सुरक्षित हुन्छ : प्रधानमन्त्री

title
बिहिबार, जेष्ठ ९, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रले शिक्षामा गरेको लगानी सुरक्षित हुने पनि स्पष्ट पारे । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि निजी क्षेत्रका विद्यालय आफै बन्द हुने तर्क गर्दै प्रधानमन्त्रीले सामुदायिक विदालयको स्तर वृद्धिका लागि सरकारले प्रभावकारी काम गर्ने बताए ।

बिहीबारबाट काठमाडौंमा शुरु भएको हिसान शैक्षिक मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको स्तरमाथि उठाएपछि निजी क्षेत्रमा पढाउन कसैले पनि नलैजाने बताए ।

तर सरकारी विद्यालयले गुणस्तरीय शिक्षा नदिएसम्म निजी विद्यालय चलाउन पाउने प्रधानमन्त्री ओलीको भनाई छ ।

‘प्रतिस्पर्धाको जवाना छ । मैले निजी क्षेत्रलाई भनेको छु–निजी क्षेत्रलाई खतरामा पारिनेछ । सामुदायिक शिक्षालयहरुको स्तर यसरी माथि उठाईन्छ, निजी क्षेत्रको विद्यालयमा पैसा बुझाउन कोही आउँदैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘जब सामूदायिक विद्यालयको शिक्षा गुणस्तरीय र निःशुल्क हुन्छ, तव निजी क्षेत्रको विद्यालय आफै बन्द हुन्छ ।’

प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई शिक्षामा लगानी बढाउन पनि आह्वान पनि गरेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले गरेको लगानी पर्याप्त नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।