शिवरात्रीमा थुप्रिएको फोहोर अझै उठेन

title
बिहिबार, फाल्गुन २३, २०७५

शान्ता लम्साल । धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको पशुपति क्षेत्रमा यो बर्ष लाखौं दर्शनार्थीले महाशिवरात्री मेला भरे । मेला भर्न पाशुपत क्षेत्रमा झण्डै १२ लाख आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तर लाखौं दर्शनार्थीको चाप व्यवस्थापन गरेको कोषले शिवरात्रीमा थुप्रिएको फोहोर अझै उठाउन सकेको छैन । धार्मिक तथा पुरातात्विक हिसावले आन्तरिक तथा बाह्य पर्यटकका लागी आर्कषणको केन्द्र मानिने पाशुपत क्षेत्रमा शिवरात्रीका बेला जम्मा भएको फोहोर अझै व्यवस्थापन हुन सकेको छैन ।

यो बीचमा कोषले मूल मन्दीर तथा सम्पदा क्षेत्रको फोहोर व्यवस्थापन गरेपनि वनकालीमा तोकिएको आवास क्षेत्र तथा धार्मिक महत्वको श्लेषमान्तक जंगल क्षेत्रको फोहोर संकलन गर्न सकेको छैन । यस्तै पर्व तथा मेलाको बेला फोहोरले अस्तव्यस्त बन्ने पवित्र बाग्मती नदि झनै फोहोर र दुर्गन्धित् बनेको छ । जहां बाह्रै महिना धार्मिक, सांस्कृतिक पर्यटक तथा अध्ययत्ता पुग्ने गरेका छन् । तर कोषले भने उपलव्ध साधन र श्रोत परिचालन गरेर सफाई अभियानलाई तिव्रता दिई रहेको दावी गरेको छ ।

पशुपति क्षेत्रभएर बग्ने पवित्र वाग्मती, क्षेत्र सफाई शिर्षकमा बर्षौंदेखि लाखौं रुपैंया खर्च गरिसकेको कोषले फोहोर उठाउने प्रयास भईरहेको जवाफ दिए पनि, सर्वसाधारण बाग्मतीको र्दुगन्धका कारण वाक्क छन् । जहां दिनहुं औसत २०–२२ जनाको दाहसंस्कार हुने गरेको छ । बाग्मती नदिसंगै, पाशुपत क्षेत्रमा रहेका पुराना मठ, मन्दिर, पाटी, कुटी तथा अन्य धार्मिक सम्पदा अवलोकनका लागि आउने पर्यटक समेत फोहोर व्यवस्थापन हुन नसकेकोमा गुनासो पोख्छन् ।

फोहोरले विश्व सम्पदा सूचीमा सुचीकृत, पाशुपत क्षेत्रको सौन्दर्यता मात्र बिगारेको छैन, विश्वभरीका हिन्दुहरुले पुज्ने पवित्र पशुपति नाथ मन्दिरको महिमा समेत ओझेलमा पारिदिएको छ । यो पशुपति क्षेत्र विकास कोष र बाग्मती सफाईका नाममा बर्षेनी करोडौं सिध्याउनेहरु जवाफदेहि नबन्दाको परिणाम हो ।