शीर्ष स्थानको चीनलाई पछ्याउँदै जापान

title
मङ्लबार, भदौ ५, २०७५

एसियाली खेलकुदमा नेपालको प्रदर्शन फितलो

काठमाडौं । एसिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्स (एसियाड)को १८ औं संस्करण इण्डोनेसियामा जारी छ । आइतबारबाट विभिन्न स्पर्धाका खेलहरु भइरहेका छन् । पछिल्लो प्रतिस्पर्धामा चीनले शीर्ष स्थान कायमै राखेको छ भने जापानले उसलाई पछ्याइरहेको छ ।

४५ देशका ११ हजार ५ सय खेलाडी सहभागी खेलमा पदकका लागि प्रतिस्पर्धा निकै नै रोचक बनेको छ । ४० खेलका ४ सय २० स्पर्धा मध्ये केही खेलको टुंगो लागिसकेको छ भने केही खेलहरु जारी रहेका छन् ।

पछिल्लो पदक तालिकामा चीन अग्रस्थानमा छ । उसले १५ स्वर्ण, १२ रजत र ९ कास्यसहित ३६ पदक जित्न सफल भएको छ । चीनलाई पछ्याइरहेको जापानले ८ स्वर्ण, ११ रजत र ११ कास्यसहित ३० पदक जित्न सफल भएको छ ।

त्यसैगरी त्यस्रो स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ९ रजत र १० कास्यसहित २४ पदक जितेको छ । चौथो स्थानमा रहेको इन्डोनेसियाले ४ स्वर्ण, २ रजत र २ कास्य गरी कूल ८ पदक जितेको छ । पाँचौ स्थानमा रहको उत्तर कोरियाले पनि समान ४ स्वर्ण, १ रजत र २ कास्य गरी ७ पदक जित्दै दक्षिण कोरियालाई पछ्याइरहेको छ । दोस्रो दिनसम्म जम्मा २० मुलुकले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् ।

प्रतियोगितामा विगतका वर्षहरु झैं चीनले नै पहिलो स्थान हात पार्ने संकेत देखाएको छ । यता नेपालको प्रदर्शन भने फितलो देखिन्छ । वैदेशिक प्रशिक्षणका कारण विगतका वर्षहरुमा भन्दा यसवर्ष बढी पदक जित्ने आशा राखिए पनि अपेक्षा पूरा हुने अवस्था देखिएको छैन ।

मायांका र माहिकाको सम्भावना

एसियाली खेलकुदअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पालेम्वाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रिक्वाटरफाइनलमा उक्त जोडीले जापानसंग मंगलबार खेल्ने छन् । पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–१ र ६–१ को सीधा सेटमा हारे ।

ब्याडमिन्टनमा बाहिरियो

ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेईंसंग ३–० ले पराजित भयो ।

पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–१४ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–१० र २१–११ को सोझो सेटमा पराजित भए । महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ तारिखदेखि सुरु हुनेछ ।

पौडीमा पनि पीडा

एसियाली खेलकुदको पौडीमा सोमबार दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गौरिका सिंह र टीसा शाक्य दुवैले १ सय मिटर फ्रिस्टायलमा भाग लिएका थिए । २७ खेलाडी सहभागी उक्त स्पर्धामा गौरिका १८ औं र टीसा २२ औं स्थानमा रहे । गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट ००.८२ सेकेन्ड समय खर्चिन् ।

टीसाले १ मिनेट ०३.९६ सेकेन्डमा दूरी तय गरिन् । मंगलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

सागर क्वार्टरफाइनसम्म

तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागर भियतनामका खेलाडीसंग २५–५ अंकले पराजित भए ।

त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसंग २३–१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसंग २०–१७ ले पछि परे । मंगलबार ३ खेलाडीले नेपालको चुनौती पस्कने छन् । महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले खेल्नेछन् ।

सुटिङको यात्रा सकियो

सुटिङमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट एक पुरुष र दुई महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सुशे चौधरी तथा महिलामा कल्पना परियार र सुस्मिता नेपालले व्यक्तिगत १० मिटर एयर राइफलमा भाग लिएका थिए ।

उक्त स्पर्धा ६ सय ५४ पूर्णांकको थियो । सुशेले ५ सय ८१ को प्रदर्शन गरे । ४४ जना सहभागीमा सुशे ४२ औं स्थानमा रहे । त्यस्तै कल्पनाले ५९४.८ र सुस्मिताले ५८७.१ अंक जोडे । ४८ खेलाडी सहभागी यो स्पर्धामा कल्पनाले ४५ औं र सुस्मिताले ४६ औं स्थान हात पारे । दुई राष्ट्रका खेलाडी अनुपस्थित रहे ।

प्याराग्लाइडिङ पदकको आशा

१८ औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा छन् । पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन् ।

यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन् । यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ ।  ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले जानकारी गराए । यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन् । अर्का नेपाली खेलाडी सुशील गुरुङ्ग भने २५औं स्थानमा छन् ।

उता एक्युरेसीको महिला टिम इभेन्टको दोश्रो चरण समाप्तिमा नेपाल चौथो स्थानमा छ । इन्डोनेसिया पहिलो स्थानमा छ भने दक्षिण कोरिया दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छन् । यो इभेन्टमा ९ राष्ट्र सहभागी छन् । पुरुष टिम इभेन्टको २ चरण सकिदा नेपाल आठौं स्थानमा छ ।

यो स्पर्धा पनि इन्डोनेसिया पहिलो स्थानमा छ भने थाइल्यान्ड दोस्रो र चीन तेस्रो स्थानमा छ । यो इभेन्टमा १५ देशबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा पनि प्रतिस्पर्धा गर्न बाँकी छ ।

उसुमा निमा कमजोर

बाह्र खेलाडी सहभागी महिलाको नान् ताउमा नेपालकी निमा घर्ती मगरले ११ औं स्थान हासिल गरेकी छन् । निमाले ९.१७ अंक जोडिन् । पुरुष छान् छ्वानमा नेपालका युवराज थापा मगरले ८.२२ अंकसाथ २१ औं स्थान हात पारे । २३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सान्सौंतर्फ पुरुष ५६ केजीमा पदम ठकुल्ला लाओसका खेलाडीसँग पराजित भए ।