श्रीलंकाविरुद्ध तेस्रो अभ्यास खेल आज, सुखद् नजिताको पर्खाइमा नेपाली टोली

title
आइतवार, भदौ १०, २०७५

काठमाडौं । एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले आइतबार अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ । लगातार दोस्रो जित हासिल गरेको नेपाली टोलीले तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्ने दाउमा रहको छ ।  आइतबार नेपाली टोलीले कोल्ट्स क्रिकेट क्लबको सामना गर्नेछ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले उसैको मैदानमा खेल्न लागेको हो ।

यस क्लब श्रीलंकाको उत्कृष्ट क्लबमध्ये एक क्लब हो । यो क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ६ पटक जितिसकेको छ । हाल क्लबको कप्तानी श्रीलंकाका टेष्ट क्रिकेटर दिलरुवान परेराले गरिरहेका छन् । श्रीलंकाका अलराउन्डर परेरासंगै अकिला धनन्जय, कुशल परेरा जस्ता चर्चित श्रीलंकन क्रिकेटर यस क्लबबाट खेल्ने गर्छन् । यि तीनै खेलाडी अहिलेको श्रीलंका टिमका मुख्य खेलाडी हुन् । यस्तै यो क्लबमा श्रीलंकाबाट यू–१९ क्रिकेट खेलिसकेका खेलाडीको बाहुल्यता रहेको छ ।

आइतबारको खेल पश्चात नेपाली क्रिकेट टोली सोमबार एसिया कप छनोट खेलका लागि मलेसिया प्रस्थान गर्नेछ । शुक्रबार भएको दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको थियो । दोस्रो खेलमा नेपालले ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गरेको थियो । उक्त खेलमा सागर र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ रहेको थियो । त्यसैगरी पहिलो खेलमा नेपालले मलेसियाको आर्मी क्लबविरुद्ध जित हासिल गरेको थियो । नेपाली टोलीको प्रमुख लक्षय अभ्यास खेलमा जित भन्दा पनि एसिया कप छनोटमा स्थान बनाउनु रहेको छ ।

एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् । जहाँ ओडिआई मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अबसर समेत प्राप्त गर्नेछन् ।

नेपाली टोलीमा एसिया कप छनोटको लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ । जसमा ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर सागर पुनले झण्डै ८ महिनापछि राष्ट्रिय टिममा कमब्याक गरेका छन् । बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम १५ खेलाडी छनोट गरिएको हो । अगष्ट १ र ३ मा नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेलेको टिममा रहेका १५ मध्ये शरद भेषावकर र शक्ति गौचन छनोट खेल्ने टिममा छैनन् । शक्तिले सन्यास घोषणा गरिसकेका छन् भने शरद चोटका कारण क्याम्पमै परेका थिएनन् ।

नेपालले पछिल्लो पटक नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको थियो । उक्त खेलमा एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको नेपाली टोलीले एसिया कप छनोटको लागि अन्तिम तयारीमा जुटेको हो । नेपाली टोलीको बलिङ पक्ष राम्रो रहे पनि ब्याटिङ पक्ष पनि विगतका तुलनामा सुधारोन्मुख देखिएको छ । यही लयलाई समात्न सके नेपालले एसिया कपमा स्थान बनाउने सम्भावना बढ्नेछ ।