सँगै जेल बसेका ओली दोस्रोपटक प्रधानमन्त्री : मिनकुमार तामाङ ‘कुन्दन’को यस्तो विजोग

title
बिहिबार, जेष्ठ १६, २०७६

शिशिर चम्लागाई

झापा । देशमा राजतन्त्र ढलेर जनताको शासन भन्ने गरिएको गणतन्त्र आएको पनि ११ बर्ष पुरा भएको छ। तर, त्यही गणतन्त्र ल्याउनका लागि जीवनको उर्जाशील समय निर्दलीय पञ्चायती शासन र राजतन्त्रका बिरुद्धको संघर्षमा बिताएकाहरुको जीवनस्तरमा भने कुनै प्रभाव परेको छैन।

झापा बिद्रोह देखि माओवादी सशस्त्र द्धन्द हुँदा जिउँदो सहिद भनिएका झापाका मनकुमार तामाङ ‘कुन्दन’को जीवनमा गणतन्त्रका ११ वर्षमा कुनै परिवर्तन आउन सकेको छैन।

१२औं गणतन्त्र दिवश देशभर तामझामका साथ मनाइरहदा त्यही गणतन्त्र ल्याउन जीवनभर संघर्ष गरेका कुन्दन खुशी हुनसमेत सकिरहेका थिएनन् । २०२८ सालताका वर्गशत्रु खतम गर्ने र पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरी समाजवादी राज्य स्थापना गर्ने सपना बोकेर झापा बिद्रोहमा होमिएका २५ बर्षीय युवा कुन्दन अहिले बुढो भएका छन् , उनको बुढ्यौलिसँगै त्यसवेलाको समाजवादी राज्यस्थापनाको सपना चाहुरिखै हराउन लागेको छ।

झापा बिद्रोहकै क्रममा १७ बर्ष ८ महिना जेल बसेका उनले माओवादी सशस्त्र द्वन्द्वमा लागेर १० बर्ष भूमिगत जीवन बिताएका हुन् । अहिले ७३ बर्ष भएका कुन्दन ज्याला मजदुरी गरेर जसो-तसो आफ्नो गुजारा चलाइरहेका छन् ।

जीवनका उर्वर ५० बसन्त गणतन्त्र ल्याएर देश परिवर्तन गर्ने भन्दै आन्दोलनमा बिताएका उनले गणतन्त्र आएपछि आफ्नै जीवनमा समेत परिवर्तन पाउन सकेका छैनन् । ‘शोषित, निमुखा, किशान, गरिबका प्रतिनिधि सत्तामा पुगे वर्गीय हित हुन्छ अनि देश परिवर्तन भएर जनतालाई केन्द्रविन्दुमा राख्ने समाजवाद आउँछ भनेर झापा विद्रोहमा होमिएका थियौं,’ कुन्दन भन्छन्, ‘तर, सँगै जेल बसेका केपीशर्मा ओली अहिले प्रधानमन्त्री छन् । उनीसँगैसँगै जेल बसेका मसहित थुप्रैजना यस्तै अवस्थामा जीवन विताउनुपरेको छ ।’

उनीसँगै जेलबसेका ओलीमात्र हैन उनले गरेको माओवादी सशस्त्र युद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड पनि दुईपटक प्रधानमन्त्री भइसकेका छन् । तर, उनको जीवनका लागि ती दुबै अर्थहिन भएका छन् ।

‘ओली र प्रचण्ड दुई–दुई पटक प्रधानमन्त्री भइसकेका छन्,’ मनकुमार भक्कानिदै भन्छन्, ‘तर, उनीहरुको ढाल बनेर बन्दुक बोकेका म जस्ताको जीवनमा गणतन्त्र आए नआएको कुनै पत्तो छैन।’

२००३ सालमा इलाममा जन्मिएका तामाङ २०२३ सालमा राल्फाली आन्दोलनमा आवद्ध भएपछि कम्युनिष्ट नेता मनमोहन अधिकारीसँग भेटेपछि आफूपनि कम्युनिष्ट भएका थिए।

२०२८ सालमा झापाबाट सुरु भएको किसान आन्दोलन र झापा बिद्रोहका सदस्य तामाङ २०२८ मा पञ्चायतले पक्राउ गरेपछि  १७ बर्ष ८ महिना जेलको कालो कोठरीमा विताए। तर, अहिले प्रधानमन्त्री ओलीसहित सिपी मैनाली, राधाकृष्ण मैनाली, नरेश खरेल, मनकुमार गौतम लगायतसँग जेलमा विताएका थिए। अहिले कुन्दनसँग त्यसको स्मरणबाहेक केही बाँकी छैन।

‘पञ्चायतले थुनुवालाई जेल सार्ने बाहनामा सुखानीमा लगिएका तामाङ हत्या गरेका ५ जना शहिदसँगै भएर पनि मारिनबाट बचेका हुन् ।  ‘मसँगै जेल सार्ने भनेर लगेर मारिएकाहरु सहिद भए, म संयोगले बाँचेको थिए,’ कुन्दन भन्छन्, ‘अहिले आफैलाई किन बाँचेछुँ जस्तै पश्चाताप हुन्छ।’

उनले लडेर बनाएको/झापा विद्रोहमा साथ दिएको पार्टी माले (पछि एमाले) र जनयुद्धका नाममा उनले १० वषै युद्ध लडेको पार्टी अहिले एक भएका छन्। तर, ती पार्टी एक भएको हर्षले पनि उनको जीवनलाई छुन सकेको छैन ।

‘आफूले लडेर बनाएको पार्टी एक हुँदा कस्लाई खुशी लाग्रुदैन र ?’ कुन्दन भन्छन्, ‘एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ, उसैले सरकार पनि छ, तर, हामीजस्तालाई उनीहरुले सम्झिएका छैनन्।’

कुन्दन खुशी हुँदै गर्दा छेउमा बसेकी उनकी श्रीमती फूलमाया तामाङ भने दुःख व्यक्त गर्दैं थिइन् । ‘देश बनाउने भनेर युद्ध लगे, आफ्नो जीवन आन्दोलन र युद्धमै बरवाद गरे, तर यीनले के पाए त,’ फूलमाया थप प्रश्न गर्छिन्, ‘यी यही बाँसको छाप्रोमा गुजारा चलाउनु परेको छ, अरुलाईं प्रधानमन्त्री बनाउन मात्र युद्ध लडेको हो त ?’

तामाङजस्तै अधिकार प्राप्तिको आन्दोलनमा जीवन अर्पण गरेका धेरै नेपालीहरुको जीवन यसरी नै गुमनाम वितिरहेको छ। परिवर्तनपछि यस्ता पात्रहरुको खोजी र सम्मानजनक जीवन भएन अनि समग्र नागरिकको जीवनमा परिवर्तन आएन भने आम नागरिकको मनोभावना पनि फूलयमायाकै जस्तै हुने पक्का छ।