संघीय समाजवादी फोरमका विद्यार्थीनेताहरुबाट प्रादेशिक कार्यालयमा तालाबन्दी

title
आइतवार, अशोज २१, २०७५

पुरन साह/धनुषा । संघीय समाजवादी फोरम नेपालको प्रादेशिक कार्यालय जनकपुरधामा उनकै विद्यार्थीनेताहरुले तालाबन्दी गरेका छन् ।

असोज २१ गते देखि जनकपुरधाममै हुने भनिएको समाजवादी विद्यार्थी फोरमको एकता प्रथम राष्ट्रिय महाधिवेशन अन्तिम समयमा स्थगित गरिएको भन्दै फोरमका विद्यार्थी नेताहरु प्रदेशको पार्टी कार्यालयमा तालाबन्दी गर्दै नारावाजी गरेका छन् ।

उनीहरुले पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउत विरुद्व नारावाजी गरेका हुन । उनीहरुले अर्को पार्टीको भेष्ट लगाएर चुनावमा खटेकाहरुको दबाबमा पार्टीले अहिले महाधिवेशन रोकेको भन्दै विरोध गरे ।

महाधिवेशनमा ७ वटै प्रदेश र सबै जिल्लाका गरी करिब ६ सय वटा क्याम्पसका प्रतिनिधि सहभागी हुने कार्यक्रम थियो । तर महाधिवेशन जनकपुरमा गर्नु हुदैन भन्ने दबाब नेतृत्व तहमा बढेपछि पार्टीले अन्तिम समयमा अधिवेशन स्थगित गरेको छ । साथै आक्रोसित विद्यार्थीहरुले रामानन्दचौकमा टायर बालेर प्रदर्शन समेत गरेको छ ।