संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान

title
आइतवार, अशोज ७, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहालाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाई गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको बिदाइका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अंगका प्रमुखलगायत विमानस्थल पुगेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । संयुक्त राष्ट्र संघको महासभालाई प्रधानमन्त्री ओलीले आगामी बिहीबार सम्बोधन गर्नुहुनेछ ।

७३ औं महासभा आगामी मंगलबारदेखि आरम्भ हुँदैछ । महासभाले यस वर्षका लागि ‘संयुक्त राष्ट्र संघलाई सबै जनतासँग सम्बन्धित, शान्ति र न्यायपूर्ण एवं दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी संस्था बनाउने’ नारा तय गरेको छ ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न देशका सरकार प्रमुखहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिइएको छ ।