संविधानसँग बाझिएका सबै कानून तत्काल संसोधन गर्न सभामुख महराको ध्यानाकर्षण

title
मङ्लबार, मंसिर ११, २०७५

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाँझिएका सबै कानुन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सभामुख महराले संविधानसँग बाँझिएका २ सयभन्दा बढि कानुन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नु भएको हो । संवैधानिक व्यवस्था अनुसार आगामी फागुन पहिलो हप्ता भित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरिसक्नु पर्नेछ । सोही कामका सरकारले विशेष ध्यान दिनुपर्ने सभामुख महराको भनाई छ ।

सभामुख महराले संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सचेत गराउनु भयो । मंगलबार राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ‘ऐन कार्यान्वय मापन तथा अध्ययन अनुसन्धान’सम्बन्धि एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले संविधान बमोजिम संविधान बने, नबनेको विषयमा पनि संसदीय समितिहरुले विशेष निगरानी राख्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको कामलाई प्रभावकारी बनाउने मूल दायित्वलाई पूरा गर्न संघीय संसदका सबै सांसदहरुलाई सचेत गराउनु भयो । उहाँले संसदीय समितिमा सदस्यहरुको अनुपस्थितिका कारण बैठक समेत बस्न नसक्ने अवस्था आएको उल्लेख गर्दै त्यसो नगर्न पनि संघीय संसदका सबै सांसदहरुको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै समितिका सभापति परशुराममेघी गुरुङले ऐन निर्माण र कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन समितिले सो गोष्ठीको आयोजना गर्नु परेको स्पष्ट पार्नु भएको थियो ।