संविधान प्रतिकूलका तीन विधेयक तत्काल फिर्ता लिन कांग्रेसको माग, सुनुवाई नभए संघर्ष गर्ने चेतावनी

title
बुधबार, जेष्ठ १, २०७६

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान प्रतिकूल हुनेगरी ल्याइएका मिडिया, मानव अधिकार र राष्ट्रिय सुरक्षासँग सम्बन्धित तीन वटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको आज(बुधवार) बिहान सिंहदरबारमा बसेको बैठकले संविधान प्रतिकूल हुने गरी आएका तीनवटै विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधानको प्रस्तावना र भावना प्रतिकूल हुनेगरी आएका ती विधेयकहरु तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनु भयो ।

काँग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।

बैठकले ती विधेयक तत्काल फिर्ता गरेर संसदलाई सहज ढंगले संचालन नगरे सरकारविरुद्ध सडक र सदन दुवैमा संघर्ष चर्काउने चेतावनी पनि दिएको छ । ती विधेयक तत्काल फिर्ता नभए सरकारविरुद्ध सदन र सडक दुवै ठाउँबाट संघर्ष गर्ने निर्णय पनि गरिएको प्रमुख सचेतक खाँडले बताउनु भयो ।

नेपाली काँग्रेसले सरकार निरंकुशताको यात्रामा निरन्तर अघि बढिरहेको आरोप पनि लगाउँदै आएको छ ।