संवैधानिक परिषद्को बैठक बस्दै

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक बस्न लागेको हो ।

यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाई समितिले अस्वीकार गरेपछि फेरि संवैधानिक परिषदको वैठक बस्न सकेको छैन । यसबीचमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपचाका लागि देश बाहिर गएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।

देउवा आइतबार मात्रै स्वदेश फिर्ता भएपछि परिषद्को वैठक आज अपरान्ह ४ बजेलाई बोलाइएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशबाट जोशी अस्वीकृत भएपछि अब प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा मध्यबाट एक जना हुनेछन् ।

न्यायाधीश हुनका लागि संविधानले तोकेको ३ वर्ष सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा रही कार्य गरिसकेको हुनुपर्ने योग्यता दुवैको पुगेको छ । न्यायपरिषद्ले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश हुनका लागि योग्य न्यायाधीशको नाम सिफारिश गर्दा रोस्टरमा समावेश गरिएकाले उनीहरुमध्ये एक जनाले नेतृत्व लिने निश्चित छ । राणाभन्दा मिश्र वरिष्ठ भएकाले उनको नाम संवैधानिक परिषद्ले सिफारिस गर्नसक्ने देखिएको छ ।

मिश्र र राणा २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए । एकै पटक सिफारिस भएका उनीहरुमध्ये मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन् भने राणा उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्च आएका ब्यक्ति हुन् ।
उता, अख्तियारको प्रमुख आयुक्त पद पनि लामो समय देखि रिक्त छ । अहिले कार्यबहाक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पुर्व मुख्यसचिव लिलामणी पौडेल, र बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षत्री प्रतिस्पर्धामा रहेका छन् ।

लोकमानसिंह कार्कीको बर्हिगमन पछि दीप बस्न्यात प्रमुख आयुक्त भएका थिए । बस्न्यातको कार्यकाल गत फागुनमा पुरा भएपछि घिमिरे कार्यबहाक प्रमुख आयुक्त भएका हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान छ ।