सक्रिय इमानका साथ काम गर्न कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन

title
बिहिबार, साउन १०, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रिय इमानका साथ काम गर्न कर्मचारीलाई
निर्देशन दिनुभएको छ ।

६ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीको ललितपुरमा आज भएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निष्क्रिय इमानदारिताले जनताकोे सेवाका लागि कुनै लाभ नहुने बताउनुभयो ।

सक्रियता र इमान्दारीताका साथ काम गर्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको अभिभारा अहिलेको प्राथमिकता रहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई सफल बनाउन सबै एक भएर लाग्नुपर्ने जिकिर गर्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सधैं सफा र स्वच्छ व्यक्तिका रुपमा रहन नयाँ अधिकृतहरुलाई निर्देशन दिनुभयो । मन्त्री पण्डितले सरकारले तोकेको र पठाएको स्थानमा कर्मचारी जानुपर्ने भन्दै पायक पर्ने स्थानमा कर्मचारीको सरुवा नहुने स्पष्ट पार्नुभयो ।

२०७४ पुस १७ देखि सञ्चालित उक्त प्रशिक्षणमा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा नवनियुक्त २ सय १७ अधिकृत सहभागी थिए ।