सगरमाथाको उचाई नाप्ने टोलीको बिदाई गर्दै ओलीले भने,‘ उचाई घटेको विश्वास छैन’

title
बुधबार, चैत्र २७, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई परपर्दो नलागेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले बुधबार सगरमाथाको उचाई मापन गर्न जान लागेका सरकारी टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा विदाई गर्दै सगरमाथाको उचाई घटेको भन्ने भनाई आफूलाई पत्यार नलागेको बताउनु भएको हो ।

त्यस अवसरमा उहाँले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाई मापन गर्न पनि सरकारी टोलीलाई निर्देशन दिनु भयो । चीनले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा सगरमाथाको उचाई घटेर ८ हजार ८ सय ४४ मिटर पुगेको भन्ने तथ्य बाहिर आएको थियो । त्यसलाई भरपर्दो मान्न नसकिने प्रधानमन्त्री ओलीको भनाई छ ।

सगरमाथाको उचाई नाप्न नेपालले पहिलो पटक आफ्ना सरकारी कर्मचारीलाई त्यसतर्फ पठाएको हो । प्रधानमन्त्री ओलीले मौसम र स्वास्थ्यको अनुकूलता हेरेर मात्रै सगरमाथाको उचाई नाप्ने काममा अघि बढन पनि सरकारी कर्मचारीहरुलाई सचेत गराउनु भयो । उहाँले आरोहण दलमा गएका गाईंडहरुको निर्देशनमा मात्रै सगरमाथाको उचाई मापन गर्ने काममा अघि बढन पनि सरकारी टोलीलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले आफ्नै कर्मचारीहरुलाई दक्ष बनाएर सगरमाथाको तथ्यपरक उचाई मापन गर्न पठाउन लागिएको जानकारी दिनु भयो । उहाँले सावधानीपूर्वक सो जिम्मेवारी पूरा गर्न पनि सरकारी टोलीलाई शुभकामना दिनु भयो ।

सरकारको उचाई मापन टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहनु भएको छ । त्यसैगरी उहाँहरुको गाईड टोलीमा छिरिङ जाङबु शेर्पा र पेमाङिमा शेर्पा रहनु भएको छ । उनीहरु सबै जनाले सगरमाथाको आरोहणका लागि आवश्यक सबै तालिम लिएको पनि मन्त्री अर्यालले जानकारी दिनु भयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाईको पहिलो पटक मापन सन् १८ सय ४९ मा भारतले गरेको थियो । त्यसपछि सन् १९५४ र सन् २००५ मा सगरमाथाको उचाई मापन गरिए पनि नेपालले भने पहिलो पटक त्यसको उचाई मापनका लागि सरकारी टोलीलाई पठाएको हो । विक्रय संवत २०७२ सालमा गएको विनाशकारी भूकम्पले सगरमाथाको उचाई घटाएको विभिन्न अडकालबाजी भईरहेका बेला सरकारले त्यसको तथ्यबोध गराउन मापनका लागि आफ्नै कर्मचारी परिचालन गरेको हो ।