सचिवालय बैठक बहिष्कार नगरेको नेकपाका प्रवक्ता श्रेष्ठको दावी

title
सोमवार, मंसिर २४, २०७५

धादिङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफूहरुले सचिवालय बैठक बहिष्कार नगरेको प्रष्टिकरण दिनुभएको छ ।

धादिङ सदरमुकाम धादिङबेसीमा पत्रकारहरुसंग कुरा गर्दै प्रवक्ता श्रेष्ठले सचिवालय बैठक समयमै सुरु नहुने देखेपछि आफूहरु बालुवाटार पुगेर बाहिरिएको दावी बताउनु भएको हो । पार्टीका दुबै अध्यक्ष र महासचिव व्यस्त रहेकाले १५ मिनेटसम्म बैठकस्थलमा कुरेर चार जना नेता वाहिरिएको घटनालाई बहिष्कारको रुपमा अथ्र्याइएको श्रेष्ठको दावी छ ।

शनिवार ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र वामदेव गौतम अनुपस्थित् भएपछि नेकपा भित्रको विवाद छताछुल्ल भएको थियो । तर पनि सांस्कृतिक कार्यक्रम उद्घाटनका लागि धादिङबेसी पुगेका प्रवक्ता श्रेष्ठले पार्टीको एकीकरण प्रकृया र विवाद व्यवस्थापनका लागि तार्किक पहल भईरहेको भन्दै नेतृत्वको बचाउ गर्नुभयो ।