
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको सतुंगलबाट १६ हजार किलो अवैध चिनी बरामद गरेको छ । शंकास्पद रुपमा केही अघि फेला परेको ३२० बोरा हाराहारी चिनी गुणस्तर जाँचपछि अवैध आयातको भएको यकिन भएको विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिए ।
विशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र विभागको टोलीले गरेको अनुगमनमा उक्त परिमाणमा चिनी बरामद भएको थियो ।
अनुगमन टोलीले फेला पारेको चिनी सुरुमा आयातकर्ताले भन्सारबाट लिलाम गरेर काठमाडौं ल्याएको दाबी गरेका थिए । तर गुणस्तर परीक्षणमा चिनीको आयातकर्ताको दाबी र लिलामी गरिएको चिनीको बीचमा चिनीको गुणस्तर र कागजपत्रमा फरक देखिएपछि चिनी अवैध भएको खुलेको महानिर्देशक चिलुवालले बताए ।
‘शंकास्पद रुपमा फेला परेको चिनी सुरुवात आयातकर्ताले वैध नै भएको दाबी गरेका थिए,’ महानिर्देशक चिलुवालले भने, ‘तर हाम्रा सूचना फरक भएका कारण हामीले त्यसको गुणस्तर परीक्षण गराउँदा र उपलब्ध कागजातको जाँचले चिनी अवैध पुष्टि भयो ।’
अहिलेको औसत बजार मूल्यमा सो चिनीको मूल्य १६ लाख रुपैयाँ भन्दा धेरैको भएको विभागले जनाएको छ । बरामद भएको चिनी भन्सार कार्यालयलाई उपलब्ध गराएर लिलामी गरेर बजार पठाउने काम अघि बढेको विभागले जनाएको छ । बजारमा अहिले पनि चिनीको अभाव छ ।