
काठमाडौं । प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनेबारे छलफल गरिरहेका छन् ।
माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएपछि बैठक अवरोध गरेको थियो ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार अहिले संसदमा एमालेले गरेको अवरोध हटाउन मुख्य दलका नेताहरूसँग सभामुखले छलफल गरिरहेका छन् ।
छलफलमा एमालेले सांसद दाहालले लगाएको आरोप पुष्टि गर्नुपर्ने र यसको जवाफ सरकारले दिनुपर्ने अडान कायमै राखेको छ । एमालेको अवरोधपछि २० मिनेटका लागि स्थगित भएको बैठक अझै बस्ने सकेको छैन । बैठकको समय परिवर्तन गरी ३ बजेलाई तोकिएकोमा त्यो पनि टरेको छ ।
आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ दिने कार्यसूची थियो ।