
काठमाडौँ । सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएईको तयारी गरेका छन् । युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् । नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ ।
सो टिमका एक खेलाडी बिरामी भएपछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएको छ । तर, कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन ।
त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुवा न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलङ्कामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ ।
यसका लागि लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।