सन्ध्याले देखाइन् सम्भावना

title
बुधबार, साउन ९, २०७५

काठमाडौं । अभिनेता अनमोल केसी अभिनीत फिल्म ’ड्रिम्स’बाट डेब्यु गरेकी नायिका सन्ध्या केसीले चलचित्र पण्डित बाजेको लौरीबाट सम्भावना देखाएकी छिन् ।

त्यसो त पहिलो चलचित्र ड्रिम्सले साम्राज्ञीलाई चर्चाको शिखरमा पु¥यायो, सन्ध्या हराइन् । तर, गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र पण्डित बाजेको लौरीमा सन्ध्याको अभिनयलाई दर्शकले तारिफ गरेका छन् ।

ड्रिम्सपछि सन्ध्याले दोस्रो फिल्म ’कमलेको बिहे’ साइन गरिन् भने तेस्रो फिल्म ’ह्याप्पी न्यू ईयर’ मा अनुबन्ध भइन् । दोस्रो फिल्मको रिलिज अझै अत्तोपत्तो छैन । तेस्रो फिल्म भने गएको वर्ष हलमा लाग्यो । तर, फिल्मलाई दर्शकले पत्याएनन् । यसबीच, उनी अभिनीत चौँथो फिल्म ‘पण्डित बाजेको लौरी’मा सबैभन्दा बलियो पक्षका रुपमा सन्ध्यालाई नै लिइएको छ ।

सन्ध्याको चरित्रले मूल कथालाई मूर्त बनाउन उल्लेखनीय योगदान गरेको छ । उनको चरित्र उनकै लागि लेखिएझैँ लाग्छ । बादी महिलाको भूमिकामा उनले जीवन्त अभिनय गरेकी छन् । उनको अभिनयले फिल्मका अन्य सबै पात्र भुलाउँछ ।

फिल्म ‘पण्डित बाजेको लौरी’ हेर्ने अधिकांशले सन्ध्याको सुन्दरता, डाइलग डेलिभरी र अभिनयको प्रशंसा गरेका छन् । हुनत, सन्ध्याले सुधार गर्न अझै पनि धेरै बाँकी छ ।

सन्ध्याले चर्चा पाएपनि बक्स अफिसमा चलचित्रको कलेक्सन भने दयालाग्दो नै छ । उनका चलचित्र सफल नभए पनि सन्ध्या भने निरन्तर दर्शकमाझ छाएकी छिन् । उनी अभिनीत पाँचौ फिल्म ‘कथा काठमाण्डू’ आउँदा असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ ।