सप्तरी मेयरकपको उपाधी डाक्नेश्वरी ड्राइगनलाई

title
आइतवार, असार ८, २०७६

एमके माझी
राजविराज । सप्तरीमा संचालित दोश्रो मेयर कप सप्तरी प्रिमियर लिगको उपाधी डाक्नेश्वरी ड्राइगनले जितेको छ । आइतबार भएको फाइनल खेलमा डाक्नेश्वरी ड्राइगनले रुपनी राइडर्सलाई पराजित गर्दै उपाधी जितेको हो । स्थानिय पविमाविको खेल मैदानमा भएको फाइनलमा रुपनी राइडर्सलाई २ विकेटले पराजित गर्दै डाक्नेश्वरीले उपाधी जित्यो ।

टस जितेर ब्याटिङ रोजेको रुपनी राइडर्सले निर्धारित २० ओवरमा ९ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो । चर्चित राष्ट्रिय खेलाडी महबुब आलम जम्न नसकेपछि रुपनी राइडर्स १ सय १५ रनको चुनौती मात्र पेश गर्न सक्यो । आलमले १४ रनको मात्र योगदान दिएका थिए ।

१ सय १६ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको डाक्नेश्वरी ड्राइगनलाई त्यो झिनो लक्ष्य प्राप्त गर्न ओवरको अन्तिम बलसम्म पर्खिनु परेको थियो । अन्तिम बलमा १ रन जोड्दै डाक्नेश्वरी ड्राइगनले बिजयी लक्ष्य प्राप्त गर्‍यो । त्यो लक्ष्य भेटाउने क्रममा डाक्नेश्वरीले आफ्नो ८ विकेट गुमाएका थिए ।

बिजयीसँगै डाक्नेश्वरी ड्राइगनले २ लाख नगद तथा ट्रफि प्राप्त गरे भने उपबिजेता रुपनी राइडर्सले १ लाख नगदसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेलका म्यान अफ द म्याच डाक्नेश्वरीका कप्तान पुष्प थापा र सोही टिमका रोबिन सिंह उत्कृष्ट बलर घोषित भए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अनसारी घोषित भए ।
गत ३ असारदेखी सुरु भएको प्रतियोगितामा चर्चित खेलाडीसहित जिल्लाका पाँच टिमको सहभागिता थियो ।

राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगिताको समाप्तिपछि क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, उपप्रमुख साधना झा, भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवर, नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, क्रिकेट संघका केन्द्रिय सदस्य शैलेश चौधरी, वडा अध्यक्ष समीर झा लगायतले बिजेता, उपबिजेता, अम्पायर तथा सहयोगिहरुलाई पुरस्कार र प्रमाणपत्र बितरण गरेका थिए ।