सफल निर्मात्री बन्ने आशिकाको अठोट

title
शुक्रबार, मंसिर ७, २०७५

भन्छिन्– एक करोड डुबाएँ चिनेनन्, २ मिनेटको भिडियोले भाइरल बनायो

काठमाडौं । अभिनेत्री आशिका तामाङ परिचित नाम हो । उनको चर्चा एकाएक चुलिनको पछाडि ‘खसिनी काण्ड’ नै हो । उनी स्वयं भन्छिन्– ‘एक करोड लगानी गर्दा चर्चा पाइनँ, तर २ मिनेको भिडियो भाइरल भयो ।’

त्यसो त आशिकाले एक करोड लगानी गरी चलचित्र शुश्रीमा अभिनेता आर्यनको अपोजिटमा देखिएकी थिइन् । चलचित्र बक्स अफिसमा असफल सावित भयो । तर, दशैंताका उनलै खशी काट्नु हुँदैन भन्ने सन्देश सहितको एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोबाट उनी भाइरल बनिन् । उनी भन्छिन्– ‘२ घण्टाको फिल्मले चिनाएन २ मिनेटको भिडियोले सबैमाझ परिचित बनेँ ।’

चलचित्रमा लगानी डुबेपछि उनी अब सफल निर्मात्रीको रुपमा स्थापित हुने अठोटमा छिन् । त्यसो त नेपाली चलचित्रका धेरै नायिकाहरुले निर्देशक तथा निर्माताको रुपमा परिचय बनाउन सफल भइसकेका छन् । यही भिडमा आशिकाले पनि सायद आफ्नो नयाँ परिचय बनाउने अठोट लिएकी हुनपर्छ ।

हलिउड अभिनेत्री द्वय किम कार्दशियन र एन्जेलिना जोलीसँग आफ्नो फिगर दाँज्न रुचाउने आशिका हालै जर्मनीबाट नेपाल आएकी हुन् । अब डेब्यु फिल्ममा भएको घाटा उठाउने गरि नेपाल फर्किएको उनी बताउँछिन् । नेपाल बसाईको क्रममा फिल्म निर्माण गरेर र हिट बनाएरै जर्मनी फर्किने उनको अठोट छ ।