सबै प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

title
मङ्लबार, चैत्र १२, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने पनि बताउनु भयो । आज संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरुसँग सिंहदरबारमा गरिएको अन्तरक्रियामा उहाँले चालू आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन नसकिएको स्विकार गर्दै आगामी आर्थिक वर्षको बजेटमा उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता प्रधानमन्त्रीले जनाउनु भएको नेकपाका नेता एवम् रुकुम क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले जानकारी दिनु भयो । अन्तरक्रियामा कर्णाली प्रदेशमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न, एक उद्योगको अनिवार्य स्थापना गर्न, तारा तालदेखि रारा ताल हुँदै मानसरोवर तालसम्मलाई पर्यटकीय आधार रुट बनाउन आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद नवराज रावतले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशमा एउटा जलविद्युत आयोजना निर्माण गर्न, केन्द्रिय विद्युत प्रशारण लाईनको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरुलाई कर्णालीको विकासका लागि आवश्यक ठोस योजना बनाएर तत्काल ल्याउन पनि निर्देशन दिनु भएको थियो ।