सबै प्रदेश र जिल्ला कमिटीहरूमा एकता महाधिवेशन गर्न नेकपाको निर्देशन

title
शनिबार, साउन १९, २०७५

काठमाडौं । पार्टी एकीकरणको साढे २ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)ले भदौ ३ गतेभित्र पार्टीका सबै कमिटिहरुमा एकता गरिसक्न निर्देशन दिएको छ ।

प्रदेश र जिल्ला कमिटिका साथै भ्रातृ संगठनहरुलाई पनि यहि अबधिभित्र एकता गरिसक्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निर्देशन दिएका हुन् । पार्टी नेतृत्वको निर्देशनपछि एकता टुंग्याउन गठित कार्यदलले आफ्नो कामलाई तीब्रता दिएका छन । जसअनुसार कार्यदलका सदस्यहरु एकतामा अपनाईने मापदण्ड तयार गरी नेतृत्वको विषयमा छलफल चलाउन केन्द्रीत भएका छन ।

जस अनुसार साउन २५ भित्र सबै प्रदेश, जिल्ला र भ्रातृ संगठनले एकता र एकता पछिको संख्याको प्रस्ताव पठाउनेछन । सो लगत्तै भदौ ३ गतेभित्रै एकता टुंग्याउने गरी काम भइरहेको कर्यादल सदस्यहरु बताउँछन ।

गत जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । पार्टी एकता गर्दै नेताहरूले तीन महिनाभित्रै प्रदेश, जिल्लासहित स्थानीय कमिटी गठन गरिसक्ने घोषणा गरेका थिए ।

पार्टी केन्द्रीय सचिवालयले प्रत्येक प्रदेशमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट दुई/दुई जना सदस्य रहने गरी कार्यदल गठन गर्दै एकता प्रक्रिया टुंग्याउन निर्देशन दिएको हो ।