समृद्धिमा लागौँः राष्ट्रपति भण्डारी

title
बुधबार, अशोज ३, २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘सामाजिक आर्थिक विकासलाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ ।’

संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

नेपालको संविधान जारी भएपश्चात् संवैधानिक प्रावधानको मर्म र भावनाबमोजिम स्थानीय तह र प्रदेश एवं सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उहाँले बहुलवाद र बालिग मताधिकारका आधारमा भएको निर्वाचनबाट जननिर्वाचित संस्था गठन भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सृदृढ तुल्याउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्नुभएको छ ।

नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिको जगेर्ना गर्दै राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र देशविदेशमा रहनुभएका नेपालीलाई राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।