सम्पदा संरक्षणको बजेट बालुवाको पानी जस्तै

title
बिहिबार, बैशाख ५, २०७६

शान्ता दनुवार । प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष अप्रिल १८ अर्थात आजकै दिन विश्व सम्पदा दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व सम्पदा दिवस मनाइएको छ । तर, २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका विश्वसम्पदा सूचीमा सुचिकृत सम्पदाको पनि पुनर्निर्माण हुन सकेको छैन । यस्तो अवस्थामा मनाइएको दिवस कत्तिको सान्दर्भिक होला त ? प्रश्नहरु उब्जिन थालेका छन् ।

ऐतिहासिक, प्राकृतिक तथा पुरातात्विक सम्पदाले भरिपूर्ण देशका रुपमा नेपाल विश्वमा परिचित छ । तर, भएका संरचनाको संरक्षण गर्ने काममा भने ओझेलमा पर्ने गरेको छ । काठमाडौं उपत्यकामा मात्रै विश्व सम्पदा सूचीमा सुचिकृत सात सम्पदा छन् । यि सम्पदा परिसरका प्रत्येक वर्ष दिवस मनाइएपनि पुनर्निमाण तथा संरक्षणमा त्यति ध्यान पुगेको देखिँदैन ।

त्यसमा पनि भूकम्पले पु¥याएको क्षतिले सम्पदाहरु जीर्ण बन्दै गएका छन् । सम्पदा निर्माणमा खर्चिएको बजेट पनि प्रभावकारी बन्न सकेको छैन । सम्पदा संरक्षण गर्ने बेला एकले अर्कोलाई आरोपप्रत्यारोप लगाएपनि दिवस मनाउन भने सबै एकजुट भएका छन् । काठमाडौं महानगरले दुई विश्वसम्पदा सूचीमा सुचिकृत सम्पदाबीचको पदयात्रा गरी यो दिवस मनाएको छ ।

सम्पदा नेपालका ऐतिहासिक धरोहर हुन् । जसले नेपाललाई विश्वभर चिनाउन मद्दत गर्छन । तर, वर्ष दिनका एक दिन भेला भएर गरिने कार्यक्रम मात्र सम्पदा संरक्षणका लागि अपुग हुने विज्ञहरु बताउँछन् । त्यसमा पनि भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण ४ वर्षसम्म नहुँदा धेरै सम्पदा टेकोको भरमा छन भने धेरै जीर्ण बनेका छन् ।

ऐतिहासिक सम्पदा नेपालको चिनारीसँग जोडिएका छन् । जसले धेरैभन्दा धेरै विदेशी पर्यटकलाई आकर्षित गर्दछ । त्यसैले यो सम्पदाको संरक्षण गर्न सबै जुट्नु आवश्यक छ । विकासका नाममा सम्पदा क्षेत्रको अतिक्रम गर्नुको साटो उचित संरक्षण गर्न सके प्राकृतिक र ऐतिहासिक सम्पदाको महत्व अझै बढ्दै जाने छ ।