सरकारका निर्णय साप्ताहिक रुपमा मात्रै सार्वजनिक हुने

title
बिहिबार, कार्तिक २९, २०७५

काठमाडौँ । सरकारले मन्त्रीपरिषद्को निर्णय बिहीबारदेखि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न सुरु गरेको छ । सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले परिवक्व सूचना जनतामा प्रवाह गराउने उद्देश्यले पत्रकार सम्मेलनबाट मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न थालिएको जानकारी दिनुभयो । सरकारको निर्णय सार्वजनिक गर्न हरेक साता एक पटक पत्रकार सम्मेलन आयोजना गरिने भन्दै उहाले यसबाट गलत सूचना जान रोकिने दाबी गर्नुभयो ।

सरकारको निर्णय परिपक्व हुन २४ घण्टा लाग्ने भन्दै उहाले हतारमा गलत समाचार जानुभन्दा ढिला परिपक्व सूचना जानू राम्रो भनेर यस्तो व्यवस्था गरिएको उल्लेख गर्नुभयो । प्रवक्ता बास्कोटाले सरकारले सूचना प्रवाहलाई व्यवस्थित गर्न मात्र खोजिएको भन्दै निर्णय लुकाउन लागेको आशंका नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कार्तिक २५ गते भएको मन्त्रिपरिषद् बैठकको निर्णय पनि सार्वजनिक गर्नुभयो । उहाका अनुसार मन्त्रीपरिषद्ले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएको छ । रिक्त भएको राजदूत पदमा अञ्जान शाक्यलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले जानकारी दिनुभयो । उक्त बैठकबाट नै भारतका लागि नेपाली राजदूतमा निलाम्बर अचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको थियो ।

साथै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको करिव ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याएको छ । साथै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।