सरकारको नीति तथा कार्यक्रम बकम्फुसे–देउवा

title
आइतवार, बैशाख २२, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ भनि राष्ट्रपति विद्या भण्डारीलाई नीति तथा कार्यक्रम सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको आरोप लगाउनु भएको हो ।

आईतबार सरकारले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै उहाँले बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको बताउनु भयो । ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई थप विवादमा पारेको छ’, सभापति देउवाको भनाई थियो–‘यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत होइन ।’

सभापति देउवाले सरकारको नीति तथा कार्यक्रममा बकम्फूसे र उडन्ते कुरा राखिएको उल्लेख गर्दै त्यो कार्यान्वयन नहुने दावी पनि गर्नु भयो । उहाँले लडहमा सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेकाले त्यसको कार्यान्वयन हुने कुनै आधार नरहेको दावी गर्नु भयो । सभापति देउवाले आफ्नो पालामा सुरु गरिएको कतिपय कार्यक्रमहरुको जस सरकारले लिन खोजेको भन्दै आपत्ति पनि जनाउनु भयो । उहाँले न्यानो स्याटलाईट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएपनि त्यसलाई सरकारले आफैले अन्तरिक्षमा पठाएजस्तो बकम्फूसे दावी गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

सभापति देउवाले प्रधानमन्त्री केपी ओलीसँग मुलुकमा पूँजी सृजना तथा परिचालन गर्ने कुनै ज्ञाननै नभएको दावी गर्नु भयो । उहाँले लगानी कसरी बढाउने ? रोजगारी कसरी वृद्धि गर्ने ? वर्तमान सरकारको नेतृत्वको कुनै पनि ज्ञान, सीप र तागत नभएको पनि बताउनु भयो । सभापति देउवाले विना योजना ल्याइएको सरकारको नीति तथा कार्यक्रम पूरा नहुने निष्कर्षमा आफ्नो पार्टी पुगेको पनि बताउनु भयो ।