सरकारले आफ्नो अस्तीत्व बोध गर्न नसकेको राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाको आरोप

title
बिहिबार, अशोज ११, २०७५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार बनेको ६ महिना बित्दा सरकारले आफ्नो अस्तीत्व बोध गर्न नसकेको आरोप लगाउनुभएको छ ।

राप्रपा (प्रजातान्त्रिक) प्रशिक्षण बिभागले काठमाडौमा गरेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष राणाले बहुमत प्राप्त भएपनि सरकार अल्मलिएर बसेको जस्तो देखिएको समेत आरोप लगाउनुभयो । मुलुकमा तीन तहको सरकार निर्माण हुनु केवल जनतालाई करको बोझको महशुस गराउनु मात्र देखिएको उहाँले बताउनुभयो ।

उहाँले मुलुकमा भईरहेको मुल्यबृद्धिलाई नियन्त्रण गर्न पनि सरकार चुकेको बताउनुभयो । निर्वाचन पछिको अवस्थामा पार्टीले सन्तुष्टी लिने ठाउँ नरहेको भन्दै उहाँले मुलुकका सबै शक्तिहरुलाई एक ठाउँमा ल्याएर बाम सरकारले गर्न नसकेको कामहरु आफहरुले गर्नुपर्ने धारणा राख्नुभयो ।

उद्घाटन सत्रमा अन्य नेताहरुले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई मजवुद बनाउनुपर्ने धारणा राखेका थिए । प्रशिक्षण कार्यक्रम शुक्रबारसम्म चल्ने राप्रपा (प्रजातान्त्रिक) ले जनाएको छ ।