सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको प्रतिपक्षी कांग्रेसको आरोप

title
बिहिबार, साउन ३१, २०७५

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा उल्टै निरुत्साहित गरेको आरोप लगाएको छ ।

बिहिवार काठमाडौमा समसामयिक अर्थ राजनीतिको समीक्षा गर्दै कांग्रेसले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने समेत दाबी गरेको छ । सरकारले जनचाहना विपरित काम गरेको भन्दै गलत कामको सशक्त प्रतिवाद गर्न काग्रेस शीर्ष नेताहरुले कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिब नागरिकको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गर्नुभयो । वरिष्ठ नेता पौडेलले कम्युनिस्ट नेतृत्वको सरकारले जनतालाई कुनै पनि विषयमा राहत दिन नसकेको आरोप पनि लगाउनुभयो ।

त्यस्तै कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले मुलुकको आर्थिक अवस्था धरासायी भएको टिप्पणी गर्नु भयो । निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै उहाँले विश्वासमा लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा काग्रेसका नेताहरुले सरकार जनताको नजरमा कमजोर भई सकेकाले अब कांग्रेसले जनचाहना अनुसारको काम गर्नुपर्ने धारणा राखेका थिए ।

सबै क्षेत्रमा कर वृद्धि गरिएकाले त्यसको प्रत्यक्ष असर उद्योगी, ब्यापारी र सर्वसाधरणमाथि परेको उनीहरुको भनाई छ ।