सरकारी कामकाज ठप्प पार्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

title
शनिबार, पुस २१, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।

डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि उनले अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउन राष्ट्रिय आपतकालको घोषणा समेत गर्न सक्ने बताएका हुन् । ट्रम्पले पर्खाल बनाउन बजेट नदिइए कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने चेतावनी समेत दिएका छन् ।

मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन ट्रम्पले संसदमा माग गरेको र बजेट विवादका कारण अमेरिकामा सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको दुई साताभन्दा बढी भैसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेक्सिकोको सीमानामा पर्खाल बनाउन पाँच अर्ब अमेरिकी डलर बजेट माग गरिएको छ । बजेट संसदले पारित नगर्दा उत्पन्न गतिरोधले अमेरिकाका आठ लाख संघीय कर्मचारीले तलबसमेत पाउन सकेका छैनन् ।

राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा मेक्सिकोसँगको सीमा क्षेत्रमा गैरकानुनी रूपमा आप्रवासीको प्रवेश रोक्न पर्खाल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर पर्खाल निर्माणको काम अझै सुरु हुन नसकेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन ।