सरकार–केसी टोलीबीच निर्णायक वार्ता आज

title
बुधबार, साउन ९, २०७५

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनमा बसेका डा. गोविन्द केसीले १५ औँ पटक सुरु गरेको सत्याग्रह २६ औँ दिन पुगेको छ । जुम्लाबाट सुरुभएको डा. केसीको यसपटकको अनशन लम्बिँदै गएको छ । गत बिहीबार स्वास्थ्यमा जटिलता देखिएको भन्दै सरकारको जोडबलमा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याइएको थियो । अहिले उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।

लामो समय हुँदा पनि सहमति जुटाउने गरी वार्ताको पहल हुन सकिरहेको थएन । तर मंगलबारदेखिको वार्ताले सहमतिको संकेत गरेको छ । सरकारी वार्ता टोली र डा. केसीको पक्षबिच मंगलबार भएको वार्तामा धेरै कुरामा सहमति भएको छ । केहीमा कुरा मिल्न अझै बाँकी रहेको छ । बाँकी रहेका विषयमा सहमति जुटानका लागि बुधबार फेरि वार्ता हुँदैछ ।

सिंहदरबारमा मंगलबार बेलुका भएको वार्तामा धेरै विषयमा सहमति भएको तर केहीमा कुरा मिल्न बाँकी रहेको डा. केसी पक्षको वार्ता टोलीका सदस्य डा. अभिषेकराज सिंहले जानकारी दिएका छन् ।

उनका अुसार डा. केसीको विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौँ उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शैयाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायत माग बारे छलफल भएको छ ।

वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने सहभागी थिए । यस्तै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा. अभिषेकराज सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे थिए ।