
काठमाडौं। राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सरकार बहुमतको ट्याब्लेट खाएर निदाइरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विशेष गरेर धेरै पटक यो संसदमा उठाइसकेको, उठिसकेको र अहिले झन्डै दुई तिहाईको नजिक रहेको सरकार यो बहुमतको ट्याब्लेट खाएर निदाइरहेको स्थिति छ’ उनले भने ।
उनले आफूसहितका धेरै सांसदहरले बारम्बार संसदमा जाजरकोटको भूकम्पबाट भएको क्षति र त्यसको पुनःनिर्माणबारे ध्यानाकर्षण गराएपनि सरकारले अहिलेसम्म पुनःनिर्माण गर्न र पीडितलाइ सुरक्षित बासस्थानमा सार्न नसकेको बताएका हुन् ।
उनले दोस्रो किस्ताको वितरण नभएको बताए । सरकारबाट भएको ढिलासुस्तीबाट जनता समस्यामा परेको बताए ।
आफैँ निर्माण शुरु गरेका केही नागरिकहरुले निर्माण सामग्रीको अभाव, कामदार अभाव लगायतको समस्या झेल्नुपरेको बताए । अस्थायी आवास निर्माणको स्थिति हेर्दा पुनः निर्माणमा झन ढिलाइ हुने स्थिति रहेको बताए ।
उनले भने– ‘फेरि म जाजरकोट भूकम्पको बारेमा आफ्ना भनाइ राख्दछु । हामी १७ औं अधिवेशनको संघारमा छाँ । सदनमा धेरै पटक भूकम्पका विषयमा कुरा उठिरहेको छ । सरकारले सच्याउने मेहनत गर्दैन ।’
सांसद शर्माले सरकारले दिएको रकमले २ कोठा पनि बनाउन नमिल्ने बताए । सरकार पुनःनिर्माण कार्यविधि समेत हचुवाको भरमा बनाएको आरोप लगाए ।