सरकार र सिके राउतबीचको सहमति मान्य नहुने : पूर्व गृहमन्त्री रावल

title
शनिबार, फाल्गुन २५, २०७५

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने स्पष्ट पार्नुभएको छ ।

शनिवार काठमाडौंमा रिपोटर्स क्लबले गरेको साक्षात्कारमा रावलले राउत र सरकारको सहमतिले राष्ट्र टुक्र्याउने कुरालाई वैधता दिनसक्ने भनी प्रतिप्रश्न गर्नुभयो । रावलले सरकारले कसैसँग सम्झौता वा सहमति गर्दा त्यससम्बन्धी उद्देश्य, गन्तव्य र एउटा स्पष्ट धारणा हुनुपर्नेमा सिके राउतसँग सम्झौता गर्दा उद्देश्य स्पष्ट नदेखिएको आरोप लगाउनुभयो ।

रावलले सिके राउतले स्वयम आफ्नो फेशबुक पेजमा जनमतसंग्रह गराउन नेपाल सरकार सहमत भयो भनेर पोष्ट गरेको उल्ल्ेख गर्दे जनमतसंग्रह गर्ने कुरा निकै आपत्तिजनक भएको टिप्पणी गर्नुभयो । सहमति नेपालको संविधानविपरित र पार्टीको विधानविपरित भएको बताउनुभयो ।

सहमति गर्दा पनि पार्टीभित्र छलफल नभएको भन्दै रावलले आक्रोश पोख्नुभयो । प्रधानमन्त्री ओलीले राउतलाई दार्शनिक भनेर सम्बोधन गरेको र राउतलाई प्रचण्डसंग दाज्न खोज्नुपनि दुखद भएको बताउनुभयो ।