सरकार विखण्डनकारीसँग लाचार भएको राप्रपा अध्यक्षको आरोप

title
आइतवार, माघ २०, २०७५

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकार विखण्डनकारीसँग लाचार भएको आरोप लगाएको छ ।

आईतवारदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा चार पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दे राप्रपा अध्यक्ष कमल थापाले सरकार विखण्डनकारीसामु लाचार बनेको आरोप लगाउनु भएको हो । सरकारले जनतामा परिवर्तनको अनुभुति दिन नसकेको थापाले बताउनुभयो ।

लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र चलिरहेको भन्दै अध्यक्ष थापाले नेपाल वायुसेवा निगमको वाईडबडी जहाज खरिद काण्ड, एनसेलको करछली, सुन काण्ड, बुढिगण्डकी जलबिद्युत काण्डहरु विगत केही बर्षदेखि मौलाउंदै गइरहको ब्रम्हलुटका केही नमुनाहरु मात्र भएको टिप्पणी गर्नुभयो ।

देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने क्रममा समान बिचारधारा भएका राजनीतिक दलहरुसंग एकता कायम गर्ने प्रयास जारी रहको समेत थापाले बताउनुभयो ।

राप्रपाले केन्द्रीय परिषदको म्याण्डेट अनुसार राप्रपाले संगठन निर्माण, जनपरिचालन, पार्टी एकता र जनसंघर्षको कार्यनीतिलाई आगामि दिनहरुमा अझ प्रभावकारी र सशक्त ढंगबाट अघि बढाउने जनाएको छ ।