कोटेश्वर–कलंकी सडकखण्डमा दैनिक ७ वटासम्म दुर्घटना, रोकथामका लागि ट्राफिकको अभियान

title
शनिबार, माघ १९, २०७५

सोनी शाही । नेपालकै नमुना भनिएको काठमाण्डौको कोटेश्वर – कलंकी सडक खण्डमा दैनिक ७ वटासम्म दुर्घटना भएपछि ट्राफिक प्रहरीले सचेतना अभियान थालेको छ ।

चिनियाँ सरकारको सहयोगमा निर्माण भएको १० दशमलव ४ किलोमिटर लामो कोटेश्वर–कलंकी सडक गत सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सडकका लागि आवश्यक न्यूनतम अन्य पूर्वाधारबिनै हस्तान्तरण गरिएको यो सडक जोखिमरहित भने हुन सकेको छैन । ट्राफिक प्रहरीका अनुसार यो सडकमा दैनिक जसो ७ वटासम्म दुर्घटना हँुदै आएका छन । नेपालकै नमुना भनिएको सडकमा नै दुर्घटनाको कहालिलाग्दो अवस्था आएपछि ट्राफिक प्रहरीले विहिबारदेखि साताव्यापी सचेतना कार्यक्रम सुरु गरेको छ ।

विभिन्न स्कूल तथा कलेजका विद्यार्थी, पैदलयात्री र आमसर्वसाधारण सहभागी सचेतना कार्यक्रममा सडकको अवस्था र बाटो काट्दा ध्यान दिनपर्नेबारे जानकारी गराइएको छ । यस अलवा सवारी चालकहरुलाई सिमित गतिमा मात्र सवारी कुदाउन सम्झाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडक विभागका अनुसार शहरी सडकमा औषतमा ४० देखि ५० किलोमिटरको गतिमा सवारीसाधन कुदाउन पाइन्छ । त्यसका लागि सडकको पुर्वाधार पनि सोही अनुशारको आवश्यक छ । तर कलंकी – कोटेश्वर सडक खण्डको डिजाइन नै गलत हुँदा समस्या आएको हो । जहाँ अधिक गतिमा सवारीसाधन कुदाईदा दुर्घटना बढ्दै गएका छन ।