सहमति विपरित भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि सुस्तामा विवाद

title
आइतवार, भदौ १०, २०७५

नवलपरासी-सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ ।विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो ।

विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो । यद्यपि पछिल्लो पटक सुस्ताको विवादित भूमिमा भारतीय पक्षबाट सडक बिस्तार गर्न खोजिएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले जानकारी दिनुभयो ।

खाँका अनुसार भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा नेपाली पक्षले उक्त कार्य रोक्न खोजेपछि सुस्ता आउने सडक सञ्जालमा खाल्टो खनेर भारतीय पक्षले दुःख दिन थालेका छन् । सुस्ता पुग्नका लागि सहज रुपमा भारतीय भूमि हुँदै सुस्ता पुग्नुपर्ने बाध्यता छ । नेपाली भूमि हुँदै सुस्ता जान नारायणी नदीमा डुङ्गाको प्रयोग गर्नुपर्ने हुँदा वर्षाभर जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।

यद्यपि भारतीय भूमि हुँदै सुस्ता पुग्न निकै सहज मानिन्छ । यतिबेला भारतीय पक्षले सो सडक सञ्जालमा खाल्टो खनेपछि सुस्तावासीलाई भारतीय भूमि हुँदै नेपालतर्फ आउने र भारतीय भूमि हुँदै सुस्ता जानसमेत निकै समस्या छ ।

भारतीय पक्षले विवादित भूमिमा सडक बिस्तार गर्न खोज्दा पछिल्लो पटक सुस्तावासीलाई समस्या भएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । पटक पटक सुस्ताको भूमिको विषयलाई लिएर नेपाल र भारतीय पक्षबीच विवाद सिर्जना भएपछि २०६४ सालमा तत्कालीन रुपमा दुवै पक्षका उच्च अधिकारीहरुबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट सडक बिस्तार, खेती गर्ने लगायतका काम दुवै पक्षबाट नगर्ने सहमति भएको थियो ।