सहिद स्मारक फुटबलः आर्मी दोस्रो स्थानमा उक्लियो

title
आइतवार, मंसिर १६, २०७५

काठमाडौँ । विभागीय टिम आर्मी पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २÷१ गोल अन्तरले पराजित गर्दै आर्मी लिगको दोश्रो स्थानमा पुगेको हो । आर्मीको यो जितले शीर्ष स्थानको मनाङ मस्र्याङ्दी क्लबमाथि दबाब पनि बढाएको छ । आर्मीको जितमा दुवै गोल कप्तान भरत खवासले गरेका थिए । जवाफमा शेर्पाका उल्रिच सीवीले एक गोल फर्काएका थिए ।

सन्तोष तामाङको कर्नर बलमा भरतले हेड गोल गर्दै आर्मीलाई ३३ औ मिनेटमा अग्रता दिलाए । ८६ औं मिनेटमा भरतले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई सहज जिततर्फ लगेका थिए । दिनेश हेम्जाङको कडा प्रहार शेर्पाका गोलकिपर किशोर गिरीले पन्च गर्दै बाहिर पठाएको रिबाउन्ड बलमा भरतले गोल गरेका थिए ।

८८ औं मिनेटमा हिमालयनका उल्रिच सीवीले गोल गर्दै शेर्पालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन । आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए ।

यो जितसंगै लिगको दोस्रो स्थानमा उक्लिएको आर्मीको पाँच खेलबाट १३ अंक छ भने पराजित हिमालयन शेर्पाको ५ खेलबाट १० अंक सहित छैटौ स्थानमा यथावत छ ।

यस्तै आइतबार नै भएका अर्को खेलमा फ्रेन्ड्स क्लबले लिगमा पहिलो जित निकालेको छ । मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले हराउँदै फ्रेन्ड्सले तीन अंक जोडेको छ । एन्फा कम्प्लेक्समा सातदोबाटोमा फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक एक गोल गरे । जितसंगै फ्रेन्ड्स ४ अंक सहित नवौं स्थानमा उक्लिएको छ यस्तै पाँच खेलमा २ अंक जोडेको मछिन्द्र १३ औ स्थानमा छ ।