‘साइनो’ टोली आजबाट फ्लोरमा

title
सोमवार, मंसिर ३, २०७५

काठमाडौं । नेपालको पहिलो फिल्म ‘आमा’ की नायिका भुवन चन्द थापाले निर्माण गर्ने फिल्म ‘साइनो’ टोली सोमबार (आज)बाट फ्लोरमा निस्किएको छ । आइतबार चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । औपचारिक कार्यक्रममा सोमबार बाटै चलचित्र टोली छायाँकनका लागि निस्किने जानकारी दिइएको थियो ।

प्रेम कथामा आधारित रहेर तयार पारिने ‘साइनो’ फिल्म ४० दिन अवधिमा छायांकन गरिने छ । रमेश थापाले निर्देशनमा बन्ने चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रोय दिप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, भिमसेन लामा, रामेश्वर बुर्लाकोटी, रेगन क्षेत्री, बसुकला मैनाली, सविन जमरकट्टेल लगायतका कलाकारहरुको अभिनय रहने छ । नव प्रस्तुतीको रुपमा राज कुमार रहनेछन् ।

फिल्मको कथा अभिमन्यू ‘निरबी’ले लेखेका हुन् । फिल्मलाई रामेश्वर कार्कीले छायांकन गर्ने छन भने बनिश शाहले सम्पादन गर्ने छन । रामजी लामेछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्वन्द्व, बसन्त सापकोटाको संगीत, चेतन कार्की र पुरुषोत्तम बस्नेतको गीत रहेको छ ।

‘साइनो’ को पहिलो प्रेसमिटमा सबै जसो कलाकार उपस्थित थिए । नायिका नीता ढुंगाना भने देश बाहिर रहेका कारण प्रेसमिटमा उपस्थित भएकी थिइनन् । अभिनेता भुवन केसी र अभिनेत्री तृप्ती नाडकरको प्रमुख भूमिका रहेको दशक अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘साइनो’ को नाम सापटी लिएर चलचित्रको निर्माण थालिएको हो ।

‘साइनो’ मा सबैभन्दा अगाडि अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी थिइन् । अब फिल्ममा ‘रोज’ फेम्ड अभिनेत्री मिरुना मगरको पनि प्रवेश भएको छ । दुई अभिनेत्रीसँग नव–नायक राजकुमारले रोमान्स गर्ने भएका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्मको प्रस्तुतकर्तामा अभिनेत्री चन्द छिन् भने शरण थापा कार्यकारी निर्मातामा छन् ।

अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् । काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकलगायतका स्थानमा फिल्म खिचिने बताइएको छ । निर्देशक थापा फिल्मलाई सबै परिवार एकसाथ बसेर हेर्न मिल्ने बनाउने बताउँछन् ।