साउन महिनाको पहिलो सोमबार शिवालयमा भीड

title
सोमवार, साउन ७, २०७५

आजै हरिशयनी एकादशी, घर–घरमा तुलसी रोपिँदै

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा विहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौंका पशुपतिनाथ, कुम्भेश्वरलगायत मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।

साउन महिनाभर सोमबार ब्रत बस्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहँदै आएको छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिनको शिवोपासना विशेष मानिन्छ । यो वर्ष साउनमा चार वटा सोमबार परेको छन् ।

यसैबीच, हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा रोपेर सोमबार हरिशयनी एकादशी मनाउँदैछन्।  आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ । यो वर्ष जेठमा परेको अधिकमासका कारण असारको एकादशी साउनमा परेको हो ।

वैष्णव परम्पराअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ । पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन् ।  यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो ।  धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नु हुँदैन । यो अवधिभर तुलसीको पूजा गर्ने भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा रहेको छ ।