साउन ३१ गते सम्मको हाजीर गरेर डाक्टर वेपत्ता

title
शनिबार, साउन २६, २०७५

बद्री पन्त / जाजरकोट । जाजरकोट अस्पतालका एक चिकित्सकले महिनाभरको हाजिर एकैपटक गरेर जिल्ला छाडेपछि त्यसबारे अनुसन्धान सुरु भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काजमा खटीएकी स्त्री रोग विशेषज्ञ डा पुर्णिमा राईले गत साउन १० गते नै साउन ३१ गते सम्मको हाजिर गरेर जिल्ला छाडेको तथ्य सार्वजनीक भएपछि यसबारे अनुसन्धान अघी बढेको हो । डाक्टर राई गत जेठदेखि जाजरकोट अस्पतालमा काज खटिएपनि उक्त अवधीमा एउटा पनि गम्भीर प्रकृतिको बिरामीको उपचार गरेको रेकर्ड छैन ।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले डा राईलाई महङ्गो तलब दिएर जटिल प्रकृतिका अप्रेशन, सुत्केरी लगाएत महिलाको उपचारका लागि काजमा राखेको हो । कार्यालयले उनलाई जाजरकोट अस्पतालबाट मासिक २ लाख ७७ हजार २ सय ५० रुपैंया तलब खुवाई रहेको छ । हाजिर गरे कै भरमा गत बर्षको जेठ र असारको पाँच लाख ५४ हजार ५ सय तलब बुझेकी राई अहिले जिल्ला मै छैनन् । महिनाको तीन हप्ता जिल्ला बाहिर बस्ने एक हप्ता मात्र अस्पतालमा हाजिर देखिने र विरामी उपचारै नगरी समय विताउने गरेको गुनासो स्थानीयको छ ।

महङ्गो तलब दिएर राखेका विशेषज्ञ चिकित्सकले नियमित काम नगर्दा गर्भवती महिला सुत्केरी हुन रुकुमको चौरजहारी, नेपालगंज लगायत अस्पतालमा पुग्नुपर्ने बाध्यता छ । विशेषज्ञ र अन्य प्राविधीकलाई काजमा ल्याउने सम्बन्धमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग करार सम्झौता भएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए ।

काजमा खटीएका चिकित्सक महिनामा ३/४ देखिने र त्यपछि विदा नलिएरै हराउने गरेका छन । जति तलब प्रतिष्ठानबाट खान्छन् उति नै तलब जाजरकोट अस्पतालबाट खाने गरी सम्झौता भएको छ ।