सागको लोगो सार्वजनिक , मंसिरमै होला त साग?

title
बुधबार, जेष्ठ १, २०७६

प्रसन्न ढुंगाना,काठमाडौं । नेपालले आयोजनाको जिम्मा पाएको १३ औं साग गत वर्ष नै सञ्चालन गर्नुंपर्ने थियो तर, विभिन्न तयारी नहुँदा पटक पटक सागको मिति सर्दै आएको थियो । सोमबार १३ सागको लोगो सार्वजनिक भएसंगै खेलाडी र खेलप्रेमीले यही वर्ष साग प्रतियोगिता हुनेमा ढुक्क भएका छन् ।

नेपालका लागी गौरवको विषय भएकोले पनि यो प्रतियोगितालाई भव्य बनाउने तयारीमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् जुटेका छन् ।

आगामी मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीका लागि मन्त्रालयले पूर्वाधार निर्माणको कामलाई दू्रतगतिमा अघि बढाएको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले वताए ।

साग प्रतियोगिताका लागि ४ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यसको व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बार तिम्सिनाको संयोजकमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

सरकारले प्रतियोगिता सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशन समिति तथा मन्त्री विश्वकर्माको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरेको छ । त्यस्तै मन्त्रालय मातहतमा रहनेगरी अन्य विभिन्न समिति पनि बनाइएका छन् । मन्त्रालयले सवैभन्दा बढी पूर्वाधारको विकासलाई जोड दिएको छ ।

१३ औं सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, प्याराग्लाइडिङ, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, कराँते, गल्फसहितका २७ खेल समावेश हुनेछन् ।

नेपालले धेरै भन्दा धेरै पदक जित्नको लागि त्यहि अनुरुपका तयारी पनि थालेको छ ।