साग खेलका लागि खेलाडी कोटा र इभेन्ट निर्धारण

title
सोमवार, साउन ७, २०७५

काठमाडौं । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको काठमाडौंमा बसेको चौथो बैठकले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) समावेश विभिन्न २७ खेलका स्पर्धा र खेलाडी कोटा निर्धारण गरेको छ ।नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा कोटा निर्धारण र स्पर्धाका विषयमा जानकारी दिएका हुन् ।

श्रेष्ठकै अध्यक्षतामा शनिबार नेपालसहित ६ राष्ट्रको सहभागितामा काउन्सिलको बैठक बसेको थियो । बैठकमा भुटान मात्र अनुपस्थिति रह्यो । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दुई खेल थप गर्दै २७ खेल पु¥याइएको छ । आगामी वर्ष नेपालमा हुने साग खेलकुद प्रतियोगितामा क्रिकेट र पाराग्लाइडिङ थप गरिएको हो ।

नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गरी दक्षिण एसियाली ओलम्पिक कमिटीको शनिबार बसेको बैठकले दुई खेल थप र विधान संशोधनको विषयमा छलफल भएको जानकारी दिएको हो । क्रिकेट दोस्रो पटक साग खेलकुदमा थप गरिएको खेल हो । यसअघि सन् २०१० मा बंगलादेशमा सम्पन्न साग खेलकुदमा क्रिकेटलाई समावेश गरिएको थियो । टि–ट्वान्टी फम्र्याटमा हुने क्रिकेटमा महिला पुरुष दुबै स्पर्धा सामेल छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले साग खेलकुद समयमै आयोजना हुने पनि बताए । अध्यक्ष श्रेष्ठले भने, ‘राष्ट्रिय खेलकुद परिषद् र सरकारसँग पटक–पटक छलफल गरेका छौं । उहाँहरुको आश्वासनअनुसार समयमै साग खेलकुद प्रतियोगिता गर्छौं । हामीले आयोजना गर्न सकिदैन भन्ने होइन ।’ साग खेलुकद नेपालमा तेस्रो पटक हुन लागेको हो । यसअघि साग खेलकुदको पहिलो संस्करण सन् १९८४ मा काठमाडौंमा सम्पन्न भएको थियो । त्यस्तै, दोस्रो पटक सन् १९९९ मा साग खेलकुदको आयोजना नेपालले गरेको थियो । अब सन् २०१९ मा नेपालमा हुन लागेको यो १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तेस्रो पटक हो ।

१३ औं सागमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बास्केटबल, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, हेन्डबल, जुडो, कबड्डी, कराँते, खोखो, सुटिङ, स्क्वास, स्वीमिङ, टेबलटेनिस, तेक्वान्डो, टेनिस, ट्रायथलन, भारत्तोलन, भलिबल, रेस्लिङ, उसु, क्रिकेट, प्याराग्लाइडिङका इभेन्टसहरु हुनेछन् । बैठकले काउन्सिलको विधानलाई इन्डोनेसियामा हुने एसियाली खेलकुदका दौरान बैठक बसी संशोधन गर्ने निर्णाय पनि गरेको छ ।