सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको काममा टेलिकमको तीब्रता

title
बिहिबार, बैशाख ५, २०७६

काठमाडौ । नेपाल टेलिकमले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीब्रता दिएको छ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले सात वटै प्रदेशमा फोर जी सेवा विस्तारको कामलाई तीव्रता दिइएको जानकारी दिनु भएको हो । आज(बिहिवार) काठमाडौंमा आयोजित ‘संचारकर्मीहरुसँगको अन्तरक्रिया’ मा उहाँले फोर जी सेवा विस्तारका लागि साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको पनि बताउनु भयो । नेपाल टेलिकमले १२ महिनामा सम्पन्न हुने गरी सबै प्रदेशमा फोर जी सेवा संचालन गर्ने सम्झौता गत माघ २० गते गरेको थियो ।

सोही सम्झौता अनुसार सबै प्रदेशमा साईट सर्भेको काम ६५ प्रतिशत सम्पन्न गरिएको प्रवक्ता बैद्यले बताउनु भयो । उहाँले फोरजी सेवा विस्तारका लागि आवश्यक उपकरणहरु भित्र्याउने काम सुरु गरिएको र त्यसको जडानको काम अर्को हप्ताबाट सुरु गर्ने पनि बताउनु भयो ।

नेपाल टेलिकमले सबै प्रदेशमा फोर जी सेवा विस्तारका लागि चीनको जी कम्पनी र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौंता गरेको थियो । प्रवक्ता बैद्यले १ करोड लाईन मोबाईल आयोजना अन्तरगत समस्या देखिएको ठाउँमा ग्राहकको माग अनुसार मोबाईल टावर थप गर्ने कामलाई पनि निरन्तरता दिइएको बताउनु भयो ।

नेपाल टेलिकमले सो आयोजना अन्तरगत मोवाईल टावर थप गर्ने काम चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको पनि जनाएको छ ।