साफ महिला च्याम्पियनसिप पहिलो पटक विराटनगरमा हुँदै

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघको कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन लागेको साफ महिला च्याम्पियनसिप यसपटक विराटनगरमा हुने भएको छ ।

फागुन २८ देखि चैत्र ८ गतेसम्म हुने प्रतियोगितालाई एन्फाले पहिलो पटक केन्द्र बाहिर लगेर आयोजना गर्ने तयारी गरेको छ । विराटनगरको शहिद रंगशालामा हुने प्रतियोगितामा नेपालसहित भुटान, पाकिस्तान, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहनेछ । प्रतियोगिताका लागि नेपाली महिला टोलीले केहीदिनभित्र बन्द प्रशिक्षण थाल्नेछ । श्रीलंकाले आयोजकबाट हात झिकेपछि साफले निर्धारित समयभन्दा एक महिना पछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो ।

प्रतियोगिता यसअघि पुस २ गतेबाट सुरु हुने बताइएको भएपछि विविध कारणबस प्रतियोगिता अब फाुगन २८ गतेबाट हुने पक्का भएको हो । च्याम्पियनसिप चैत ७ गतेसम्म चल्नेछ । प्रतियोगिताका लागि नेपाली टिमले आन्तरिक तयारी शुरू गरेको भए पनि औपचारिक रुपमा भने केही दिनमा तयारी थाल्ने भएको छ । प्रधानसेनापति महिला फुटबल चलेका कारण खेलाडी प्रशिक्षणमा जुट्न सकेका थिएनन् । बुधबारबाट प्रधानसेनापति महिला फुटबल समापन भएसँगै खेलाडी बन्द प्रशिक्षणमा जुट्ने भएका हुन् ।

त्यसो त यसअघि म्यानमारमा भएको ओलम्पिक छनोटको दोस्रो चरण यात्रा पक्का गरेर स्वदेश फर्किएको नेपाली टोलीको एकमात्र लक्ष्य भनेका साफ च्याम्पियनसिप जित्ने रहेको छ । यसका लागि नेपाली टोली प्रतिक्षारत रहेको भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले खेलाडीका लागि चाडै प्रशिक्षको व्यवस्था गरिने जानकारी दिए ।

दक्षिण एसियाली फुटबल महासंघको ओमानको मस्कटमा बसेको बैठकले महिला साफको मिति टुंगो लगाएको हो । जसअनुसा महिला साफ आगामी फागुन २८ देखि चैत ८ सम्म हुनेछ । प्रतियोगितामा नेपालसहित सार्क राष्ट्रका टिमले भाग लिनेछन् । यसअघि दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता आयोजना गर्ने जिम्मा नेपाललाई दिएको थियो । यसअघिका चार संस्करणको सबै उपाधि भारतले जितेको थियो । नेपाल सुरुवाती ३ संस्करणको फाइनलमा पुगेर पनि भारतसँग पराजित हुँदा उपाधि बिमुख भएको थियो ।

प्रतियोगिता घरेलु मैदानमै हुने भए पनि नेपाली खेलाडीहरुमा थप हौसला मिलेको छ । त्यसमा पनि नेपाली खेलाडीको प्रदर्शन शानदार रहेको र हालै म्यानमारमा भएको ओलम्पिक छनोटको दोस्रो चरण यात्रा पक्का गरेका कारण पनि नेपाली टोलीको मनोबल उच्च रहेको छ ।

नेपाली टोली बन्द प्रशिक्षणमा नजुटिसकेको भएपनि टोली फूर्सदिलो भने बनेन । नेपाली राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडीले बुधबारमात्र सम्पन्न प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल खेलेका थिए । उक्त खेलको च्याम्पियन सशस्त्र प्रहरीले नेपाल एपीएफ बन्यो । एपीएफ टोलीमा राष्ट्रिय खेलाडीकै बाहुल्यता छ । त्यसैले पनि नेपाली टालीले प्रशिक्षणलाई निरन्तरता दिएको छ ।