साफ सुजुकी कपः इतिहास रच्ने दाउमा नेपाल

title
मङ्लबार, भदौ १९, २०७५

पाकिस्तानसँग खेल्दै प्रारम्भ

काठमाडौं । बंगलादेशमा आजबाट १० औं संस्करणको साफ सुजुकी कप फुटबलमा शुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दै प्रारम्भ गर्दैछ । उच्च मनोबलका साथ मैदानमा उत्रिन लागिको नेपाली टोलीको पहिलो लक्ष्य भनेको जसरी पनि सेमिफाइनलसम्मको यात्रा तय गर्नु रहेको छ । त्यतिमात्र नभएर नेपाली टोली इतिहास रच्ने दाउमा समेत देखिएको छ ।

विगतलाई हेने हो भने नेपालको उपलब्धि भने खासै राम्रो छैन । नेपालले अहिलेसम्मको ठुलो उपलब्धि भनेको सेमिफाइनलमा पुग्नु हो । सन् १९९७ मा नेपालमै आयोजना भएको प्रतियोगितादेखि साफ च्याम्पियनसिप शुरु भएको हो । त्यसअघि सार्क गोल्डकपका नामबाट सन् १९९३ मा पाकिस्तान र १९९५ मा श्रीलांमा खेलाइएको थियो । यी दुई प्रतियोगितासमेत जोड्दा यो साफको १२ औँ संस्करण हुन जान्छ । बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्द्विभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलङ्काले एक÷एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भुटान र पाकिस्तानले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् ।

दुई पटक घरेलु मैदानमै साफ च्याम्पियनसिप आयोजना गरिसकेको नेपालले प्रतियोगितामा सेमिफाइनलभन्दा माथिको नतिजा निकाल्न सकेको छैन । पछिल्लो पटक सन् २०१३ मा काठमाडौमै भएको प्रतियोगितामा नेपाल सेमिफाइनल पुग्यो र अफगानिस्तानसँग पराजित हुँदै खेलबाट बाहिरियो । यसअघि सन् १९९३, १९९९, १९९५ र २०११ मा पनि नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यो संस्करणमा समूह ए मा रहेको नेपालले पाकिस्तान, भुटान र आयोजक टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । तुलनात्मकरुपमा सजिलो समूहमा परेको नेपालका लागि इतिहास रच्ने अवसर भने जुरेको छ ।

नेपाली टोलीका कार्यबाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालको पहिलो लक्ष्य समूहको विजेता हुँदै सेमिफाइनलसम्म पुग्ने बताए । महर्जनलाई प्रशिक्षणमा किरण श्रेष्ठ र नवीन महर्जनले सहायकको रुपमा साथ दिइरहेका छन् । करीब साढे दुई वर्षदेखि नेपाली टोलीलाई प्रशिक्षण दिने जिम्मेवारी सम्हाल्दै आएका जापानी प्रशिक्षक ग्योतोकु कोजी प्रवेशाज्ञाका कारण जापान फर्किएपछि उनको ठाउँमा हालै बालगोपालाई जिम्मेवारी दिइएको हो । उनले खेलाडीहरुले कमजोरी सच्याएर नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्ने आशा राखेका छन् ।

भदौ १९ देखि ३० गतेसम्म जारी रहने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बुधबार भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग भदौ २२ गते खेल्नेछ । प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्द्विभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’ मा छन् । भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा परेका छन् । नेपाली टोलीमा गोलरक्षक किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने हुनुहुन्छ । डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल छन । मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन ।