सामाजिक चलचित्रका सकारात्मक पाटा

title
आइतवार, अशोज २१, २०७५

काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय सामाजमा व्याप्त कुप्रथा तथा विभिन्न जातीय मुल्य मान्यतामा आधारित चलचित्रको निर्माणले प्राथमिकता पाइरहेका छन् । समाजमा हुने यस्ता प्रथाले एकातर्फ समाजलाई बाँध्ने काम गरेको हुन्छ भने समाजमै हुने केही कुप्रथाले समाजलाई अधोगतितर्फ धकेलीरहेको हुन्छ ।

पुरानो चलचित्र ‘देउकी’ सुदूर पश्चिममा भगवानका नाममा महिलालाई नै चढाउने र ती महिलाले विवाहसमेत गर्न नपाउने कथामा निर्माण भएको थियो । तर, त्यो प्रथा अहिले हटिसकेको छ । त्यस्तै तराईमा हुने दाइजो प्रथामा पनि विभिन्न चलचित्र निर्माण भए । जात जाति र भाषा भाषीका चलचित्रल निर्माणले आफ्नो जातीय पहिचानलाई उजागर गर्ने काम गरिरहेका बेला कृष्ण धारावासीको उपन्यास ‘झोला’मा आधारित रहेर निर्माण भएको नेपाली चलचित्र झोलाले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम थप्न सफल भयो ।

प्राचीन समयमा नेपालमा विद्यमान रहेको सती प्रथाको कथामा निर्माण भएको झोलाले दर्शकको मनमात्र जितेन, उक्त चलचित्र अभिनय गरेकी गरिमा पन्तलाई निकै नै उचाइमा पु¥यायो । त्यपश्चात धेरै चलचित्र खेलेर पनि सफलता बटुल्न नसकेकी नायिका पन्तले चर्चा चुलियो । एक पछि अर्को गरी उनी चलचित्रमा अनुबन्धित भइन् । साहित्यिक पुस्तक झोला निर्माण लगत्ती बीपी कोइरालाको एक उपन्यास तीन घुम्तीमा पनि उनी अनुबन्धित भइन् । तर, हाल उनी बैवाहिक जीवनमा बाँधिएपछि चलचित्रबाट टाढा रहेकी छिन् ।

यस्तै वैदेशिक रोजगारीका पीडा तथा व्यथालाई लिएर पनि विभिन्न चलचित्र निर्माण गरिए । यस्ता चलचित्रले समाजमा हुने विभिन्न विकृति तथा विसंतिलाई दर्शकमा छर्लङ्ग पार्न सफल भए । यी चलचित्रले चलचित्रबाट आम्दानी गर्नु भन्दा पनि समाजलाई सकारात्मक पाटोमा अग्रसर पार्ने काम गरेको देखियो । यस्तै अवस्थामा अहिले पुनः एक चलचित्र ‘दैलो’ निर्माण भएको छ । सामाजिक कथावस्तुमै केन्द्रित दैलो कात्तिक ३० गतेबाट आम दर्शकमाझ आउँदैछ ।

चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको प्रचार प्रसालाई पनि तीव्र बनाएको छ । हालै चलचित्र निर्माण युनिटले ‘दैलो’ को अफिसियल ट्रेलर सार्वजनिक गरेको थियो । सामाजिक मुल्य मान्यता, दाइजो र आमा–बुबाको छोरा–छोरीप्रतिको प्रेम ट्रेलरमा देखाउन खोजिएको छ । ट्रेलरबाट बुझिएका कथावस्तुकै आधारमा चलचित्र दैलोले समाजकै कथा व्यथालाई दर्शकमाझ देखाउन खोजेको बुझिएको छ ।

सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ । जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् । निर्देशक उप्रेतीले बनिरहेका फिल्मभन्दा ‘दैलो’ फरक रहेको बताए । उक्त फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ ।

फिल्मको कथा निर्देशक उप्रेतीकै हो । केही समय अघि चलचित्र ‘दैलो’मा समावेश एक आइटम गीत रिलिज भएको थियो । सार्वजानिक ‘लाग्यो मलाई’ बोलको गीतमा विमल भट्टराईको शब्द तथा लक्षु प्रकाश मल्लको संगीत भरेका छन् । गीतमा दुर्गा साउदको स्वर रहेको उक्त गीतमा गम्भीर बिस्टको नृत्य निर्देशनमा भिडियो तयार भएको हो । जसमा मोडल पवन पाठकले ठुम्का लगाएकी छन् ।

त्यसो त विगतमा नेपाली चलचित्रहरुको निर्माण प्रायः सामाजिक कथावस्तुमै केन्द्रित रहेर निर्माण गरिएका हुन्थे । थोरै चलचित्र निर्माण हुने भएको हुँदा त्यो समयमा चलचित्रले दर्शकको राम्रै साथ पाउँथे । प्रायः चलचित्रले ५१ दिनको सफल व्यापार गरेको पाइथ्यो । सिमित हल भएकै कारण पनि चलचित्र हेर्ने दर्शकको ओइरो लाग्थ्यो । तर अहिले त्यो अवस्था छैन । काठमाडौं उपत्यका बाहिर भएका हलहरु सवै जोड्दा काठमाडौंमै भएका हलहरुलाई भेट्न सक्ने अवस्था छैन ।

एकै ठाउँमा ५–६ वटा हलहरु बनाएर विभिन्न चलचित्रको प्रदर्शन हुने गरिएको छ । जसले गर्दा विगतमा ५१ दिनको कारोबार अहिले चलचित्र राम्ररी एक साता मात्रै चल्यो भने पनि उठाउने अवस्था रहन्छ र देखिँदै आएको छ । समग्रमा नेपाली चलचित्रको विगतदेखि वर्तमानलाई नियाल्ने हो भने सामाजिक कथावस्तुका चलचित्रले समाजलाई सकारात्मक बाटोतर्फ अग्रसर पार्न गरिएको प्रयासका रुपमा लिन सकिन्छ ।