सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ, श्रमिकलाई के हुन्छ फाइदा ?

title
मङ्लबार, मंसिर ११, २०७५

काठमाडौँ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्नु भएको हो । श्रमिकको औषधि उपचार, वृद्ध अवस्था, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताप्रति उत्तरदायी बन्न सबैका लागि यो योजना सार्वजनिक गरेको बताउनु भयो ।

उहाँले यो योजनाले सक्नेले मात्रै खाने अवस्थाको अन्त्य गरेको घोषणा पनि गर्नु भयो । प्रधानमन्त्री ओलीले श्रमको सम्मान गर्न, श्रमप्रति सबैलाई उत्साहित बनाउन र समाजका सबै नागरिकलाई संरक्षण दिन सरकारले यो योजना सार्वजनिक गरेको पनि स्पष्ट पार्नु भयो । उहाँले २५ वर्ष अघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले सामाजिक सुरक्षा कोष स्थापना गरेपछि त्यसलाई अघि बढाउन अघि सारिएको यो कार्यक्रमलाई कतिपयले विरोध गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री ओलीले त्यस अवसरमा सरकार कहाँ छ ? के गर्दैछ ? भन्ने प्रश्न उठने गरेको उल्लेख गर्दै सरकार श्रमजीवि जनताको बीचमा रहेको दावी समेत गर्नु भयो । उनीहरुको भविष्य सुरक्षित गर्न सरकार तल्लीन रहेको पनि यो योजनाले जवाफ दिएको प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले सरकार देशको विकास गर्न बनेको उल्लेख गर्दै केही दिन भित्रै मेलम्चीको पानी आउने र सरकार कहाँ छ ? भन्नेले जवाफ पाउने बताउनु भयो । उहाँले सरकार कहाँ छ ? भन्ने प्रश्नको जवाफ गरिव जनतालाई सोध्न पनि आग्रह गर्नु भयो ।

प्रधानमन्त्री ओलीले वर्षौदेखिको सास्ती बनेको नाकढुंगा–कलंकी सडकखण्ड हेर्न गए सरकारले काम गरिरहेको थाहा पाउने पनि बताउनु भयो । जता फर्कियो त्यता सरकार देख्न थालेपछि विरोधीहरु आफैं चुप लाग्दै जाने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कार्यक्रम इमान्दारिताका साथ लागू गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिक र रोजगारदाता दुवैको सुरक्षित भविष्य सुनिश्चित गरेको बताए ।

श्रमिकलाई मर्यादित तथा सम्माजनक ढंगले जीवन यापन गर्ने महत्वपूर्ण अवसर सृजना गर्न सामाजिक सुरक्षा योजना कार्यक्रम शुरु गरेको बताए ।

मन्त्री विष्टले सुरक्षा योजनाले उत्पादन बढ्ने भन्दै त्यसले रोजगारदाता कम्पनीको भविष्य पनि सुनिश्चित गर्ने दाबी गरे ।

देशभरका नीजि उद्योगमा काम गर्ने करिब ३५ लाख श्रमिकले मासिक ११ प्रतिशत र २० प्रतिशत सम्बन्धित रोजगारदाताले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने व्यवस्था सामाजीक सुरक्षा नीतिमा उल्लेख छ ।

श्रमिकले जम्मा गरेको रकमबाट स्वास्थ्य तथा उपचार र वृद्धवस्थामा निश्चित रकम पाउने व्यवस्थासहितको सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न सके फाइदाजनक रहेको नीजि क्षेत्र सम्बद्ध व्यवसायीले समेत बताएका छन् ।